ramchandra adhikari

-रामचन्द्र अधिकारी

‘माओवादी पानीको खोला होइन् रगतको जंघार तरेर आएको हो’ संबिधानसभाका निर्वाचनको नतिजा निर्माणपछि क्रान्तिकारीहरु गम्भीर मोडमा आइपुगेका छन ।

 

नेपाली जनताका चाहना र अपेक्षालाई क्रान्तिको सफल प्रयोगद्धारा सिद्ध गरी नेपालमा जनवादी गणतन्त्रको अन्तरबस्तुसहितको जनसंबिधान निर्माण गरी किसान मजदुर जस्ता आधारभुत वर्गका अधिकारलाई संस्थागत गर्ने अभियानमा धक्का लागेको छ ।

 

 

संबिधानसभालाई क्रान्तिको साधनको रुपमा प्रयोग गर्दै अगाडि बढने क्रान्तिकारीहरुको अभिष्टमा प्रतिक्रियावादीको जाल झेल षडयन्त्र र धाँधली तथा माओवादीको आन्तरिक पार्टी प्रणालीमा देखिएको कमजोरीका कारण संबिधानसभा बुर्जुवाहरुको गफ गर्ने थलोको रुपमा परिणत हुँदैछ । ‘हामीले बनाएको कार्यनीतिक श्रृंखला प्रयोग गर्दै जाँदा हामी भित्र दुई खालको बिचलनको खतरा हुनेछ ।

 

त्यसको बिरुद्ध लडेर क्रान्तिकारी पार्टी अगाडि बढाउनु पर्दछ’ एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले चुनवाङ बैठकपछि भन्नुभएको थियो। संबिधानसभाको दोस्रो निर्वाचनको नतिजा निर्माणसम्म आइपुग्दा हामी दक्षिणपन्थी अवसरवादको घेरावन्दी र चेपुवामा परेको गहिरो अनुभुति आम कार्यकर्ताले गरेका छन । संबिधानसभालाई साध्य बनाउन खोज्ने प्रबृत्ति र संबिधानसभालाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा परिभाषित गर्ने उग्रबामपन्थी प्रबृत्ति एउटै परिघटनाबाट उजागर भएका छन ।

 

माओवादी आन्दोलनभित्र देखिएका दुवै खालका बिचलनले प्रतिक्रियावादीलाई हरियो मैदान प्रदान गरेको छ । सत्ताका पूराना अवयवहरुलाई साँचो बुझाएर निर्वाचन चुनावमा जानु वर्गउदारताको पराकाष्ठा हो ।

 

यसको स्रोत दक्षिणपन्थी रुझान नै हो भने चुनाव बहिस्कारको नाटकको पर्दा भित्र र राजनीतिक मूल्य मान्यता बिपरित प्रतिक्रियावादीहरु र बुर्जुवाहरुसँग पैसा खाई भोट बेचेर राजनीतिक एजेण्डा मिल्ने शक्ति हराउन तल्लिन हुने उग्रबामपन्थी बिचलनको पराकाष्ठा नै हो ।

 

यतिबेला कार्यकर्ताका दिमागमा हामीले अवलम्बन गरेको कार्यदिशाका वारेमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । बिपक्षीका पैसा लिएर आफूलाई पराजय गराउनेसम्मका हर्कत गर्ने अवस्थामा पार्टी पुग्नु भनेको दक्षिणपन्थी अवसरवाद नै हो ।

 

त्यतिमात्र होइन,कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता भएर आफ्ना उम्मेदवारलाई पराजित गराउन आफू निष्क्रिय र उदासिन हुँदै बिपक्षी उम्मेदवारसँग गैरराजनीतिक साँठगाँठ गरी अन्तरघातको नमूना प्रस्तुत हुनु पनि अवसरवादी चरित्र नै हो र माओवादी स्कूलिङ विपरित हरकत नै मान्नुपर्छ ।

 

नेकपा–माओवादीका नेताले जारी गरेको सर्कुलरका आधारमा एकीकृत माओवादीका उम्मेदवारलाई पराजित गराउन संबिधानसभाको निर्वाचनमा कांग्रेस एमालेका उम्मेदवारका पक्षमा पैसा लिएर मतदान गर्नुले ‘उग्रबामपन्थीका गतिबिधिले अन्तत प्रतिक्रियावादीकै सेवा गर्दछन’ भन्ने लेनिनको भनाईलाई प्रमाणित गरेको छ ।

 

नेकपा माओवादीको बहिस्कार आन्दोलनलाई निष्क्रिय बनाउन सेना परिचालन गर्ने निर्णयमा सहमत हुनु एकिकृत नेकपा माओवादीको भुल हो भने प्रचण्डलाई पराजित गराउन माओवादीका नेता कार्यकर्ताले पैसा लिएर कांग्रेस र एमालेका उम्मेदवारका पक्ष मतदान गराउनु मोहन बैद्यको गम्भीर भुल हो ।

 

त्यसैले दुवै पार्टी र नेताका कार्यकर्ताले आ आफनो पक्षका गम्भीर आत्मसमीक्षा गरिनु पर्छ । एकीकृत माओवादी भित्र हुर्किएको गलत संस्कार, चिन्तन र व्यवहारमा सिंगो पार्टीका बिरुद्ध हिलो छयाप्ने प्रबृत्ति अन्त्य गरिनु पर्छ । सौताको रिसले श्रीमानको काखमा पिसाव गर्ने प्रवृत्तिका पक्षमा पनि हामी अलमलिनु हँदैन ।

 

असल र खराव प्रवृत्ति पार्टी आन्दोलनमा देखिन्छ । असल पक्षधर जो जहाँ रहे पनि सँगै रहने संस्कारको विकास गर्नतिर लाग्नु हाम्रा लागि श्रेयस्कर हुन्छ । घर जलाएर आगो ताप्ने प्रबृत्ति बोक्ने पार्टीभित्रका केहि नेता कार्यकर्ता बिस्तारै राजनीतिक रुपमा सुकुम्बासी हुनेछन् ।

 

एकीकृत माओवादीका शीर्ष नेतृत्व एकले अर्कालाई आरोप प्रत्यारोप लगाएर पन्छिन सक्ने अवस्थामा छैनन् । दोषजति अर्कोलाई देखाएर आफू पानीमाथिको ओभानो बन्न मिल्दैन, यो राजनीतिक तरिका होइन । इतिहास यो संकटपूर्ण घडीमा हेक्का रहोस् हामी माओवादी पानीको खोला तरेर आएका होइनौं । रगतको जंघार तरेर आएका हौं ।

 

कम्यूनिष्ट पार्टीमा डि–एरियामा बसेर गोल हान्ने रोनाल्डो प्रवृत्तिको खारेज गर्नुपर्छ । जनयुद्धका मूल्य र मान्यतालाई स्थापित गर्दै जनयुद्धले बिकास गरेका सकारात्मक संस्कृतिको संरक्षण गरेर माओवादीको भविश्य सुरक्षित हुन सक्छ । अन्यथा प्रतिक्रियावादीले एकीकृत माओवादीलाई संबिधानसभा भित्र र बाहिर राखेर सिध्याउने षडयन्त्र बुन्न थालिसकेका छन् । त्यसतर्फ दुवै माओवादीको नेतृत्व सचेत रहन आवश्यक छ ।

 

पार्टीलाई विघटन र बिसर्जनबाट रोक्ने हो भने पार्टी भित्र देखिएका अनियमिततालाई कारबाहीको दायरामा ल्याउने,पार्टी निर्णय भन्दा बाहिर हुने व्यक्तिगत निर्णयमा अंकुश लगाउने प्रणाली लागू गर्ने, भारतीय नेता ज्योति बसुको जत्तिको जीवनशैली अवलम्बन गर्ने,सामाजिक न्यायका सबै श्रृंखला शुरु गर्ने, जनताको प्रतिनिधिका रुपमा काम गर्ने, आफना एजेण्डा जनतालाई सरल भाषामा बुझाउने,राष्ट्रियताको बिषयलाई कमजोर हुन नदिने,उत्पादन र निर्माणमा लाग्ने,एउटा अभियानदेखि अर्को अभियानसम्म पार्टी परिचालन गर्ने प्रबृत्ति अन्त्य गरी नियमित रुपमा बैठक,सर्कुलर जस्ता पार्टी पद्धति अवलम्बन गर्ने, संबिधानसभालाई संघर्षको मैदानका रुपमा प्रयोग गर्ने, सरकारमा सहभागी नहुने, नेकपा–माओवादीसँग कार्यगत एकता कायम गर्ने, पहिचानका पक्षधर देशभक्त, अग्रगामी, प्रगतिशिल, बामपन्थीको साझा मोर्चा बनाउने नीति पार्टीले अवलम्बन गर्नु पर्छ ।

 

कोठे गफमा रमाउने नेता कार्यकर्तालाई ग्रामिण क्षेत्रका जनताको खेतबारीमा उत्पादन बढाउनेतिर लगाउनु पर्छ । हिमाल, पहाड र तराईको बिशेषता अनुसारको संगठन र संघर्षका कार्यक्रम निर्माण गरिनु पर्छ । आफनो वर्ग प्रति बिश्वास गर्दै परिवारवादबाट नेताहरु मुक्त हुनुपर्छ ।

 

शीर्ष नेतृत्वको सचिवालयमा वर्गसंघर्षबाट खारिएका नेता तथा कार्यकर्ता रहनु पर्दछ । कांग्रेस एमाले जतिसुकै निकता देखाए पनि उनीहरु माओवादी आन्दोलनलाई सिध्याउन चाहन्छन भन्ने बिषय नेता तथा कार्यकर्ताले बुझनु पर्छ ।

 

कम्युनिष्ट आन्दोलनको गतिलाई सुदुरभबिश्यमा धकेल्ने खतराबाट बचाएर बचाएर आन्दोलनलाई पुनसंगठित गर्ने हामी युवा क्रान्तिकारीका अगाडि चुनौती र अवसर दुवै देखिएको छ ।

 

चुनौतीसँगै आएको अवसर प्राप्त गर्नका लागि एकता,संघर्ष र रुपान्तरणको विधिलाई अवलम्बन गर्दै युवा क्रान्तिकारीले सहकार्य गर्दै अगाडि बढनुपर्छ।