२ भदौ, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका अर्थात् एसएलसी पूरक परीक्षाको परीक्षाफल भदौ महिनाभित्र प्रकाशन गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षामा उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न मिल्ने गरी कार्यालयले छिटो नतिजा प्रकाशित गर्न तीव्ररुपमा काम गरेको बताउनुभयो ।

गत साउन २० गतेबाट सुरु भई २७ गते सम्पन्न परीक्षाको नतिजा भदौ अन्तिम सातासम्म प्रकाशन गर्नका लागि तीव्ररुपमा काम भएको श्री अर्यालले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणका लागि कुल १८ वटा परीक्षण केन्द्र तोकेर परीक्षण भइरहेको छ ।

उनले भने—“देशभर १८ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र तोकेर केन्द्रमा आवश्यक पर्ने सामग्री र उत्तरपुस्तिका पुस्तिका पु¥याउने काम सकिएको छ, छिटो परीक्षण सकेर यसै महिनाको अन्तिम सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।”

गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रूपमा पूरक परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए । श्री अर्यालका अनुसार परीक्षामा सबैभन्दा बढी विज्ञान विषयमा ५५ हजार, गणितमा ५० हजार र अङ्ग्रेजीमा ३१ हजार विद्यार्थी अनुत्तीर्ण भएका थिए । रासस