९ साउन, काठमाडौं ।

एकीकृत माओवादीमा पार्टी रुपान्तरणको विषयलाई लिएर शिर्ष नेताबीचमा आरोप प्रत्यारोप चलेको छ । एमाओवादीले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको दोस्रो स्मृतिमा शनिबार पार्टी मुख्यालयमा गरेको कार्यक्रममा पार्टीको रुपान्तरणको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच आरोप प्रत्यारोप चलेको हो ।

Prachanda speakingउपाध्यक्ष श्रेष्ठले अध्यक्ष दाहालमाथि पार्टीलाई पद्धतिविना चलाएको आरोप लगाए । पार्टीमा बढेको अराजकता र भ्रष्टिकरण रोक्न रुपान्तरण अनिवार्य भएको तर अध्यक्ष दाहालले रुपान्तरण र पुर्नगठनको मागलाई बेवास्ता गरी पार्टीलाई कमजोर र चरित्रहीन बनाएको उपाध्यक्ष श्रेष्ठको आरोप थियो ।

अध्यक्ष दाहालले भने पार्टीको रुपान्तरणका लागि आफूले २५ बुँदे प्रस्ताव गरेपनि नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष श्रेष्ठको असहयोगका कारण काम अगाडि बढन नसकेको बताए । उनले एक्लो व्यक्तिको प्रयासले पार्टीमा सुधार नहुने भन्दै आरोप लगाएर उम्किनुको साटो आफूले गरेका कामको समीक्षा गर्न उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरे । पार्टीलाई अराजकताबाट मुक्त गर्नुपर्ने माग राख्ने नेताले आफैं गुट र उपगुट संचालन गर्न नसुहाउने अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष र उपाध्यक्ष नै आरोपप्रत्यारोपमा उत्रिए पछि कार्यक्रममा सहभागी एमाओवादीका कार्यकर्ता निराश भएका थिए । गुट उपगुट संचालन गरेर पार्टीमा अराजकता बढाएको आरोप लगाइएका नेता डा. बाबुराम भट्टराई भने कार्यक्रममा अनुपस्थित थिए ।