१० जेठ, बैतडी

गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको बताइएको छ ।

हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कोलीको बाटोमै मृत्यु भएपछि जिप छोडेर चालक जनक जोशी भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।