१ साउन, इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृत्युदण्डको कानुनको पक्षमा आफू रहेको रहस्य खोलेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टर्कीमा गतवर्ष सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ को एक वर्ष पुगेको अवसरमा शनिबार इस्तानबुलमा आयोजित एक -यालीमा उनले सो रहस्योद्घाटन गरेका हुन ।

सो -यालीमा उनले भने ‘यदि त्यो कानुन संसदले बनाएर मकहाँ आयो भने मैले रोक्दिन, हस्ताक्षर गर्नेछु । म वास्तवमा भन्ने हो भने राज्यद्रोहीहरुलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पक्षमा छु ।’

उनले त्यसो भनिरहँदा त्यहाँ उपस्थित भएका सर्वसाधारणले पनि देशमा कडा कानुनको खाँचो रहेको बताइरहेका थिए । उनीहरुले मृत्युदण्डको कानुनको पक्षमा राष्ट्रपतिको धारणाप्रति स्वागत पनि गरेका थिए ।

सन् २०१६ को जुलाई १५ मा केही रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासस्वरुप राष्ट्रपतिको विरुद्धमा भन्दै विद्रोह गरेका थिए । सरकारी भवनहरुमा बमबारी गर्नुका साथै गोली हानी सत्ता परिवर्तनको प्रयास उनीहरुले गरेका थिए ।

उक्त विद्रोहमा परी २६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब दुई हजार २०० जना घाइते भएका थिए । तर ती सैनिकको विद्रोही प्रयास भने असफल हुन पुगेको थियो ।

टर्की सरकारले उक्त दुःखद आक्रमणमा परी मारिएका नागरिकको सम्झनामा शुक्रबार सार्वजनिक बिदा दिएको थियो । त्यसैगरी शनिबार जुलाई १५ को सोही दिन पारेर विशेष श्रद्धाञ्जलि सभाको पनि आयोजना गरेको थियो ।

विद्रोहमा उत्रिएका सैनिकले सर्वसाधारणको हत्या गरेको इस्तानबुलस्थित एउटा पुलमा आयोजना भएको कार्यक्रममा उनले सो धारणा राखे । साथै सो पुलको नाम जुलाई १५ शहीद पुल नामाकरण गरिएको छ ।

गत बर्ष जुलाई १५ मा भएको सो विद्रोहमा मारिएका निर्दोष सर्वसाधारणको स्मरणमा सो नाम राखिएको हो । रातारात भएको सैनिक विद्रोहका क्रममा उक्त पुलमा सर्वसाधारणमाथि सैनिकले हमला गरेका थिए ।

शनिबार आयोजना गरिएको सो -यालीमा उपस्थित सर्वसाधारणहरुले हामी मृत्युदण्डको कानुन चाहन्छौँ भनेर नाराबाजी गरिरहेका थिए ।

टर्कीस् राष्ट्रपतिका समर्थकहरुले सत्ता हत्याउने प्रयास विफल हुनुलाई टर्कीको पुनर्जन्मका रुपमा व्याख्या गर्ने गरेका छन् । उनीहरुले राष्ट्रपतिले राज्यद्रोहीलाई गरेको कारबाही सही हो भनेका छन् ।

उता उनका विरोधीहरुले भने राष्ट्रपतिले विद्रोहीलाई कारबाही गर्ने निहुँमा देशमा अन्याय गरेको भन्ने गरेका छन् । उनीहरुले ५० हजार जनालाई गिरफ्तार र डेढ लाख लाई बर्खास्त गरिएको विषय उठाउँदै सरकारले प्रतिपक्षलाई सिध्याउने खेल मात्र खेलेको दाबी गर्दै आएका छन् ।

उता युरोपेली युनियनले टर्कीस् सरकारलाई कूको प्रयासमा सम्लग्नहरुका नाममा गरिएका भनिएका यी क्रियाकलापहरु तत्कालै बन्द गर्न चेतावानी दिँदै आएको छ ।

टर्कीको सरकारले भने अमेरिकामा निर्वासनमा रहेका ईस्लाम धर्मगुरु फेतुल्लाह गुलेनको योजनामा उक्त कूको प्रयास भएको बताएको छ । उसले ती धर्मगुरुको योजनामा उनका समर्थकहरु सत्तापलटमा सम्लग्न भएको आरोप लगाउँदै आएको छ ।

आफ्नो संलग्नताको आरोपको गुलेनले भने खण्डन गर्दै आएका छन् । उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । सरकारले गुलेनलाई सुपुर्दगी पनि माग गरेको छ । तर वासिङगटनले अस्वीकार गर्दै आएको छ । रासस/सिन्ह्वा