३० फागुन , बागलुङ ।

‘स्वार्थभन्दा माथि सेवा’ को आदर्श वाक्यसहित बागलुङमा ‘रोट्र्याक्ट’ सप्ताह शुरु भएको छ । रोट्र्याक्ट क्लब अफ बागलुङले युवालाई सामाजिक सेवामा जोड्न वर्षेनी रोट्र्याक्ट सप्ताह मनाउँदै आएको छ । यही चैत ५ गतेसम्म चल्ने सप्ताहमा विविध रचनात्मक कार्यक्रम गरिने क्लबका अध्यक्ष बलबहादुर थापाले बताए।

सप्ताहको पहिलो दिन बुधबार अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको क्लबले जनाएको छ ।

यस्तै आज शान्ति दौड, चैत १ गते बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग मित्रमिलन, २ गते भाषणकला प्रशिक्षण, ३ गते फुटसल प्रतियोगिता र ४ गते पञ्चकोटमा पर्यटकीय सूचना बोर्ड राखिने भएको छ ।

चैत ५ गते जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणसहित सप्ताहव्यापी कार्यक्रम सकिनेछ । सामुदायिक विद्यालयका चार विद्यार्थीलाई रु पाँच हजारका दरले छात्तवृत्ति प्रदान गरिने सप्ताहका मूल संयोजक ताराप्रसाद शर्माले बताए। युवाको व्यक्तित्व तथा नेतृत्व विकाससहित सामाजिक सेवामा क्लब क्रियाशील भएको अध्यक्ष थापाले बताए। “रोट्र्याक्ट सप्ताह हाम्रा लागि वार्षिक चाडजस्तै हो”, उनले भने, “क्लबका साथीहरुले आफ्नो दक्षता देखाउने अवसर पनि हो यो ।”

सप्ताहको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले गतिशील र चरित्रवान युवा तयार गर्न क्लबले योगदान पुर्याएको उल्लेख गरे। “क्लब सामाजिक रुपान्तरणमा केन्द्रित हुनुपर्छ”, उनले भने, “जनचेतना अभिवृद्धिसहित समाजलाई अग्रगति दिनेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।” क्लबमा ५० युवा आवद्ध छन् । रासस