४ माघ, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने संयुक्त लगानी सम्झौता (जेभिए)मा प्रारम्भिक हस्ताक्षर भएको छ । तीन दिनभन्दा लामो छलफलपछि सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनका उपाध्यक्ष या याङले सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरेका हुन् ।

प्राधिकरण र कम्पनीको सञ्चालक समिति (बोर्ड)ले पारित गरेपछि जेभिएमा हस्ताक्षर हुने लगानी बोर्डका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए । ‘प्रारम्भिक हस्ताक्षरपछि आयोजना अगाडि बढाउन एउटा खुड्किलो पार भएको छ,’ उनले भने, ‘दुवै संस्थाका बोर्डबाट पारित भएपछि जेभिएमा हस्ताक्षर हुनेछ ।’

paschim-sati

साउन ०७१ बाट निर्माण सुरु गरी पुस दोस्रो साता ०७६ मा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखी ऊर्जा मन्त्रालय र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच १७ फागुन ०६८ मा समझदारी भएको थियो । तर, समझदारी भएको ५ वर्ष पुग्न लाग्दासमेत अहिलेसम्म आयोजना निर्माण गर्ने कम्पनी नै खुल्न सकेको छैन । अस्ट्रेलियन कम्पनी स्मेकले पनि आयोजना १५ वर्ष ओगटेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।