१३ भदौ, एजेन्सी । ‘बाहुबली’ अभिनेता प्रभासको हलमा प्रदर्शनरत फिल्म ‘साहो’लाई फ्यानहरुले एकदमै प्रतिक्षारत थिए । तर रिलिजको केहीघण्टापछि फिल्म अनलाइनमा लिक भएको छ ।

फिल्म अनलाइनमा लिक भएपछि यसको आम्दानीमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । फिल्मको पाइरेटेड डाउनलोड विभिन्न वेबसाइटमा राखिएको छ । फिल्मलाई उत्कृष्ठ बनाउनको लागि निर्माण टीमले ब्यापक खर्च गरेको छ । फिल्ममा समावेश ८ मिनेटको एक्सन सिक्वेन्सको लागि ७० करोड रुपैयाँ खर्च गरिएको छ । यस्तो अवस्थामा फिल्म लिक हुनु निर्माण पक्षलाई नोक्सान हुनु निश्चित छ ।

उसो त अनलाइनमा लिक भएको ‘साहो’ नै पहिलो फिल्म भने होइन । यसअघि कंगना रनौत र राजकुमार रावको फिल्म ‘जजमेन्टल है क्या’ पनि अनलाइनमा लिक भएको थियो ।

‘साहो’ तेलुगूको अलावा अरु तीन भाषामा रिलिज भएको छ । फिल्ममा प्रभासको साथमा नायिका श्रद्धा कपूर, चंकी पाण्डे, नील नितिन मुकेशको साथै कैयौं बलिउड स्टारहरु छन् । फिल्मको हिन्दी भर्जनले पहिलो दिन १५ देखि २० करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ । कतिपय ट्रेड एनालिस्टले फिल्मको पहिलो दिन ७० करोड कमाई गर्ने ठोकुवा गरेका छन् । फिल्मलाई दर्शक तथा समिक्षकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।