नेपालमा बच्चा जन्माउने दर घटेको छ अनि औसत आयु पनि बढ्दै गएको छ । जसले बृद्धबृद्धाको संख्या बढेको छ । तर त्यही अनुसारको पालन पोषणा र हेरचाह नहुँदा बृद्धबृदाको अवस्था झन दयनिय बन्दै छ ।

जव औसत आयु कम थियो, ६० वर्ष माथिका व्यक्ति अस्वस्थ र समाजमा खासै केही गर्न नसक्ने भनेर टिप्पणी गरिन्थ्यो । त्यति बेला कुल जनसंख्याको ५ प्रतिशत मात्र जेष्ठ नागरिक थिए । अहिले त्यो संख्या बढेर झण्डै ९ प्रतिशत पुगेको छ । त्यो क्रम अझै बढ्दैछ ।Krishna Murari Gautam (2)

तर जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण समाजमा ठिक छैन । जसले समाजलाई यो अवस्थामा ल्यायो, उनीहरुको सिंगो समाजले बुढेसकालमा एक्लै छोेडेर हिड्ने प्रबृति बढेको छ । राजनीतिक दलहरुले घोषणा पत्रमा जेष्ठ नागरिक सम्बन्धि प्रतिवद्धताहरु जनाए पनि त्यो अनुसारको कार्यान्वयन भएको छैन ।

कानून नै विभेदकारी
अहिलेका नियम कानून विभेदकारी छन् । श्रीमतीलाई कसैले पारपाचुके गरेर समाजबाट निकाले सम्पत्ति दिनुपर्छ । तर बाउ आमालाई कसैले निकालिदियो भने सम्पत्ति त परै जावस, त्यस्तालाई कारवाहीको पनि व्यवस्था छैन ।

सबैलाई समान छैन । यो अन्याय हो । बुढाबुढीले कमााएको सम्पत्तिबाट उनीहरुलाई घरबाट निकालेर छोराछोरीले हतकडी नलगाई घरमै बसेर खानु कानुनी अपराध हो ।

भन्न मलाई लाज लाग्छ तर तथ्यांक अनुसार हरेक महिना १५ जना बुढाबुढी माथि हातपात हुन्छ, कुटिन्छ, यौन दुर्ब्यवहार हुन्छ । सम्पत्ति जफथ गरिन्छ । यसले देखाउँछ बुढाबुढी माथि दुर्ब्यवहार बढ्दै गएको छ भन्ने ।

भोली हामी पनि बुढाबुढी हुने हो, आज म अरुको तथ्यांक भन्दै छु त्यती बेला यहि अवस्था रहे त्यो तथ्यांकमा हामी पनि समावेश हुनेछौं ।

भुकम्प पछि जेष्ठ नागरिक
भुकम्पका बेला संरचना भत्केर मर्ने त मरिहाले त्यहाँ उमेरको कुरा भएन । तर त्यसपछि जेष्ठ नागरिक मर्नेको संख्या अस्वभाविक रुपमा बढेको छ । त्यसको कारण हो, औषधी खान नपाउनु र खानपान नमिल्नु ।

उनीहरु दिर्घरोगी थिए, कोही बाथ, चिनी रोग, प्रेसरका विरामी । जसले नियमित औषधी खानु पर्ने थियो, उनीहरुको विचल्ली भयो । कुन चिज कहाँ छ थाहा नभएको, सबै अत्तालिएको अवस्थामा औषधीको मतलव पनि भएन ।

जसले गर्दा औषधीको कारण, शारीरिक कम्जोरी र अव्यवस्था, मानसिक कम्जोरी, पाल मुनीको बसाई, चिसो लगायत कारणले निमोनिया लगायतका रोगले धेरै बुढाबुढीको मृत्यु भयो । यो समस्या नदेखिने गरी डरलाग्दो छ ।

संसारमा भुकम्पले जति मर्छन, त्यसको आधा आगामी एक वर्षमा मर्छन । अहिले धेरैको मानसिक सन्तुलन बिग्रेको छ । अरुको मृत्युको खबर, शारीरिक अवस्था, गाली खानु पर्ने अवस्था लगायत कारणले मानसिक असर उनीहरुलाई नै बढी पर्छ ।

Krishna Murari Gautam (1)

भुकम्प पछिको खानपान
अहिले भुकम्पपछि उनीहरुको खानपानको शैली नराम्रोसँग बिग्रेको छ । खानपानकै कारण धेरैको मृत्यु भएको छ । प्रेसरको विरामी नुन धेरै खान नहुने तर राहत स्वरुप चाउचाउ वितरण गरियो । त्यो बाहेक अरु खाने चिज पनि छैन ।

सुगरका विरामीलाई चिउरा वितरण गरियो, चिउरा धेरै खान सक्दैनन् । पानीमा भिजाएर खानु पर्ने हुन्छ तर पानी स्वच्छ छैन । यसरी नै स्याहार नपुगेर धेरै मरेका छन् । यो विषयमा चेतना जगाउनुपर्छ । दुर्घटना त जतिबेला पनि हुन सक्छ ।

जिम्मेवारी कस्को त ?
पहिलो जिम्मेवार व्यक्ति परिवारकै सदस्य हो । मेरो बाउ आमाले बच्चा जन्मे पछि सबैभन्दा पहिले सरकारले के गर्छ भनेर कहिल्यै सोचेनन्, भत्ताको लोभ राखेनन् । त्यसो हो भने छोराछोरी कति कपुत त ?

आफूलाई हुर्काउने बाबुआमाले अनि बाबुआमा पाल्ने जिम्मा सरकारको ? सरकारको मुख ताक्न मिल्छ ? त्यसैले प्रमुख दायित्व छोराछोरीकै हो । जुन मानव सभ्यता विपरितको काम हो ।

सबै कुरा सरकारको मुख ताक्ने गरी परमुखी भएका छौं हामी । त्यसो त सरकारको भूमिकै छैन भन्ने होइन तर विभेदकारी कानून परिवर्तन गर्नुपर्छ । जेष्ठ नागरिक समाजका पुस्तकालय, संस्कारका धनी हुन् । उनीहरुको संरक्षण गर्नुपर्छ ।

बृद्धबृद्धाका क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम अर्थात चट्याङ मास्टरसँग नेपालीहेडलाइन्सका बोमलाल गिरीले गरेको कुराकानीमा आधरित ।