२५ कात्तिक, काठमाडौं । पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलम प्रकरणमा नयाँ मोड आएको छ ।

रौतहटको राजपुरमा भएको बम बिस्फोटमा परि घाइते भएकालाई जिउँदै इट्टा भट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको छ । पक्ष विपक्षमा नाम चलेका वकिलहरु बहसमा उत्रिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आलमलाई जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको छ ।

अहिले पनि थुनछेक बहस चलिरहेको छ । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, सुनिल पोखरेललगायते बहस गरेका छन् । थुनछेक बहस चलिरहँदा सरकारी साक्षीले नै बयान फेर्ने तयारी गरेका छन् । आलम विरुद्ध सरकारी साक्षी राखिएका बम बिस्फाेटका घाइते गौरीशंकर राम चमारले बम बिस्फोटका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका हुन् । आलमका वकिलका साथमा अदालत छिर्न लाग्दा उनलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

उनले आफू बम बिस्फोटका कारण नभई स्टोभ पड्किएर घाइते भएको कागजात पेश गरेका छन् । यसअघि बिस्फोटमा मृत्यु भएका एक व्यक्तिकी श्रीमतीले पति विदेशमा रहेको भन्दै नमरेको भन्दै अदालतलाई कागज बुझाएकी थिइन् । तर आलमका विरुद्ध वकालत गर्दै आएका बरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौलाका अनुसार उनको पतिको मृत्युदर्ता प्रहरीसँग सुरक्षित छ । त्यतिमात्रै नभई आलमका मान्छेहरुले उनलाई विभिन्न प्रलोभन र धम्की दिएर बयान फेर्न लगाएको प्रमाण पनि प्रहरीले सुरक्षित राखेको उनको भनाई छ ।