२९ पुस, लमजुङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । आज बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् ।

उनले भने, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।”

फाइल तस्बिर

संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उनले बताए । उनले भने, “उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ ।’’

फरक प्रसङ्गमा उनले बताए, “नेपाल र भारतबीच अहिले पश्चिममा सीमा विवाद रहेको छ, त्यो लामो समयदेखिको विवाद नै हो । नेपालले आफ्नो राष्ट्रिय सार्वभौम भौगोलिक अखण्डताको पक्षमा अडान राख्दै आएको छ ।” उहाँले वर्तमान सरकारले पहिलोेपटक लिम्पियाधुरासहित कालापानी र लिपुलेक पनि हाम्रो भूभाग हो भनेर राज्य र सरकारका तर्फबाट आधिकारिक धारणा प्रस्तुत गरेको बताए । रासस