३ चैत, एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण विश्वभर १ लाख ७० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार १ सय ५७ देशका १ लाख ७० हजार १ सय ७८ जना नागरिक कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमध्ये ६ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको यो भाइरसको संक्रमणले अहिले युरोपलाई पिरोलिरहेको छ । इटलीमा एकैदिन ३ सय ८६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै चीनमा ८० हजार ८ सय ६६ जना संक्रमित हुँदा ३ हजार २ सय १३ जनाले ज्यान गुमाए । ६७ हजार ७ सय ६२ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । अहिले पनि अस्पतालमा ९ हजार ८ सय ९१ जना उपचार गराइरहेका छने । जसमध्ये ३ हजार २ सय २६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

चीनपछि काेराेना भाइरसका कारण नराम्ररी प्रभावित भएको मुलुक हो इटली । इटलीमा संक्रमितको संख्या २५ हजार पुग्न लागेको छ । २४ हजार ७ सय ४७ जना संक्रमित हुँदा १ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । २ हजार ३ सय ३५ जना उपचारपछि घर फर्किएको तथ्याङ्क छ । २० हजार ६ सय ३ जना उपचार गराइरहेका छन् जसमध्ये १६ सय ७२ जनाको अवस्था चिन्ताजनक छ ।

इरानमा १३ हजार ९ सय ३८ जना संक्रमित भएकामा ७ सय २४ जनाको मृत्यु भएको छ । ४ हजार ५ सय ९० जना उपचार गराएर घर फर्किँदा अस्पतालमा ८ हजार ६ सय २४ जना उपचाररत छन् । दक्षिण कोरियामा ८ हजार २ सय ३६ जना संक्रमित हुँदा ७५ जनाको मृत्यु भएको छ भने ७ हजार २४ जना उपचाररत छन् ।

स्पेनमा कोरोनाका कारण २ सय ९४ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ६९ जनाको मृत्यु भइसकेको छ । जापानमा २५, अष्ट्रेलियामा ६, भारतमा २ जनाको मृत्यु भइसकेको छ ।