काठमाडौं ।

एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–कांग्रेस सहकार्य सम्भव पार्ने कांग्रेस नेता विमलेन्द्र निधि नेपाली राजनीतिका ‘गेम चेञ्जर’ का रुपमा देखिएका छन्।

विश्वका कुख्यात ६ तानशाहका छोरा छोरीले के के गरे (फिचर)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढाल्न सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादीसँग मिलेर गरेको ‘मूभ’ २३ वैशाखमा असफल भएपछि कांग्रेसका नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि ‘धोकेबाज’ र ‘विश्वासघाती’ भएको सार्वजनिक आरोप लगाए। माओवादी जस्तो ‘अविश्वसनीय र अवसरवादी दललाई चिन्न नसकेको’ मा पार्टी सभापति शेरबहादुर देउवामाथि पनि ‘हुस्सू’ भन्ने आरोप लाग्यो।

Prachanda and deuwa 322526811
एमाले नेतृत्वको सरकार ढाल्नका निम्ति दाहाललाई प्रधानमन्त्री बनाउन तयार भएको कांग्रेस अन्तिम घडीमा दाहाल एमालेसितै मिलेपछि योविघ्न उद्वेलित बनेको थियो। त्यसपछि त कांग्रेस–माओवादी मिलन सम्भव नहुने अनुमान समेत गरे, धेरैले।

बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको पूर्ण सुरक्षा हुनुपर्छ – प्रचण्ड

तर, त्यसको दुई महीनामै कांग्रेस–माओवादी निकटता बढेन मात्र, २८ असारमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नै गर्‍यो। अर्को दिन कांग्रेस–माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव नै दर्ता गरे।
चरम अविश्वासको तहमा झ्रेको कांग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी थिए– कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि।

minister nidhi and rishi dhamala

सभापति शेरबहादुर देउवाका सबभन्दा निकटका विश्वासपात्र रहेका उनले नयाँ सत्ता गठबन्धन बनाउन थुप्रै ‘गोप्य’ भेटघाट र छलफलहरू गरे, आन्तरिक–बाह्य ‘शक्तिकेन्द्र’ हरूसँग ‘डिल’ गरे। एमालेको नेतृत्वको ‘वाम गठबन्धन’ तोडेर कांग्रेसलाई सत्तामा पुर्‍याउन मात्र होइन, आन्दोलनरत मधेशी मोर्चालाई संसद्‌मा भित्र्याएर सिंहदरबार प्रवेशको बाटोमा डोर्‍याउन समेत सफल भए, निधि।

चिनियाँ मिडियामा महराको अन्तर्वार्ता- चीनसँग अझ मजबुद सम्बन्ध !

विश्लेषक पुरञ्जन आचार्य दाहाल नेतृत्वको सरकारमा संसद्को पहिलो दलको नेतृत्व गरेर उप–प्रधान तथा गृहमन्त्री बन्नु त्यही भूमिकाले सुनिश्चित गरेको निधिको ‘राजनीतिक फड्को’ मान्छन्।

हुन पनि, वैशाखमा सरकार ढाल्न चलिएको त्यत्रो चाल नराम्रोसँग विफल भएपछि यति चाँडै कांग्रेस–माओवादी गठबन्धन बन्ला भन्ने आकलन गरिएको थिएन। “तर, विमलेन्द्रले त्यसलाई सम्भव तुल्याए”, आचार्य भन्छन्, “पछिल्लो राजनीतिक परिघटनाको सूत्रधार र संचालक बनेका उनले ‘गेम चेञ्जर’ को अवतार देखाउन खोजेका छन्।”

संदिग्ध भूमिका!

पछिल्लो सत्ता परिवर्तनको राजनीतिमा विमलेन्द्र हावी हुनुमा बाह्य कारण भएको मान्नेहरूको पनि कमी छैन। प्रमुख प्रतिपक्षी बन्न पुगेको एमालेका नेताहरू त विमलेन्द्रका पछिल्ला ‘मूभ’ हरू बाह्य शक्तिकेन्द्रकै खटनपटनमा भएको दाबी गर्छन्। उनीहरूका अनुसार, केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने बाह्य ‘डिजाइन’ का मोहरा हुन्, उनी।

Home minister Nidhi and ranjit ray 1451666

“सरकार परिवर्तनको पछिल्लो खेलमा भारतीय एजेन्सीहरूको सक्रियता एक ‘ओपन सेक्रेट’ हो”, एमालेका एक नेता भन्छन्, “यत्तिको उँचाइ बनाएका नेताले भारतसँगको सम्बन्धलाई राजनीतिक तहमा सीमित नराखेर एजेन्सीहरूसँग साँठगाँठ गर्नु दुर्भाग्यपूर्ण हो।”

भारतसँग राजनीतिक तहमा सम्बन्ध भएका कांग्रेसका नेताहरू पूरै किनारा लगाइएको अवस्थाले पनि एमाले नेताहरूलाई यस्तो दाबी गर्न बल पुगेको छ। हुन पनि, सरकार परिवर्तनको पछिल्लो प्रकरणमा शेखर कोइराला, शशांक कोइराला, प्रदीप गिरीलगायतका नेताहरू ‘सिन’ मै देखिएनन्।

कांग्रेस सभापति देउवाले शेखरलाई त परराष्ट्रमन्त्री बनाउने आश्वासन दिएर पनि बनाउन चाहेनन्। भारत र मधेशकेन्द्रित दलहरूलाई ‘कन्भिन्स’ गर्न सक्ने नेताका रूपमा विमलेन्द्रले प्रमुख भूमिका पाएको बताइए पनि तराई–मधेश लोकतान्त्रिक पार्टीका एक नेता त्यसका लागि शेखर उपयुक्त हुने ठान्छन्। ती नेता भन्छन्, “तर, कांग्रेसभित्रको समीकरण र अन्य पक्ष हावी हुँदा भयो अर्कै।”

एमाले नेताहरूको दाबीलाई बिर्संदा पनि विमलेन्द्रका पछिल्ला ‘मूभ’ र अभिव्यक्तिहरू सन्देहरहित देखिन्न। सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुँदा उनले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिन ‘लविङ’ गरे।

केपी ओली नेतृत्वको सरकारले प्रस्तावित द्रुतमार्ग आफैं बनाउने निर्णय गर्दा उनी विरोधको अग्रपंक्तिमै देखिए। कोइराला सरकारमा मन्त्री रहेका एमालेका एक नेता भारतीय कम्पनीलाई फास्ट ट्रयाक जिम्मा दिन विमलेन्द्र निधिले क्याबिनेट बैठकमै गरेको लविङ लाजमर्दो रहेको बताउँछन्।
“भारतीय कम्पनीलाई आयोजना दिने कि नदिने भन्ने प्रश्नै होइन, सम्झ्ौतामा जेजस्ता प्रावधान राख्न खोजियो र न्यूनतम सवारी संख्या नपुग्दा राष्ट्रलाई जुन नोक्सानी हुने देखियो, त्यसको विरोध हो”, एमालेका ती नेता भन्छन्, “तर, निधिजीले आयोजना दिने लाजमर्दो लविङ गर्नुभयो।”

संविधान निर्माण रोक्न र संविधान जारी भइसकेपछि पनि त्यसको विरोधमा भारतीय नाकाबन्दी निम्त्याउने भूमिकामा मधेशकेन्द्रित दलहरू थिए। तर, पछिल्लो समय मधेशको आन्दोलन विकृत र कमजोर भइसकेको निष्कर्षमा दिल्ली पुगेको उसका ‘मूभ’ हरूले देखाउँछन्।

मधेश राजनीतिको कमान वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवको हातमा पुगेपछि महन्थ ठाकुर, विजय गच्छदारलगायतका कांग्रेस पृष्ठभूमिका नेताहरूलाई अगाडि बढाएको दिल्ली त्यसबाट पनि पार नलागेपछि देशको पुरानो पार्टी कांग्रेसभित्रै मधेशको नेता ‘ग्रुम’ गर्ने निष्कर्षमा पुगेको विश्लेषण कांग्रेसकै एक नेता गर्छन्।

ती नेता भन्छन्, “कांग्रेसभित्र ‘नेपालका गान्धी’ भनिएका महेन्द्रनारायणका छोरा, बीपीले ‘प्रोजेक्सन’ गरेका र पछिल्लो समय पार्टीभित्र निर्णायक हैसियत बनाएका विमलेन्द्र दिल्लीको रोजाइमा पर्नु अस्वाभाविक पनि होइन।”

कुनै बेला भारतले ‘मित्र’ ठानेका केपी शर्मा ओली पछिल्लो नौ महीने शासनकालमा ‘चीनसँग नजिकिनु’ दिल्लीको टाउको दुखाइ बनेको थियो। यो अवस्थामा मुलुककै नेता हुनसक्ने र चिनियाँ प्रभावमा पनि नपर्ने मधेशी समुदायका विमलेन्द्रलाई दिल्लीले उपयुक्त पात्र ठानेको हो। कांग्रेसका अर्का एक नेता भने यो विश्लेषणलाई मधेशी नेतालाई भारतसँग जोडिहाल्ने मानसिकताको उपज मात्र ठान्छन्।

सानो चित्त, संकुचित भावना
राजनीतिक ‘करिअर’ मा पारिवारिक विरासत महत्वपूर्ण हुने गरे पनि कांग्रेसभित्र विमलेन्द्र निधि त्यस्ता नेता हुन्, जो पिताको विरासतको छायाँ बाहिर आफ्नै संघर्षबाट स्थापित भए। विमलेन्द्रले स्थापित गरेको अर्को मान्यता के हो भने, बाबु चुनाव लड्दासम्म उनले टिकट खोजेनन्।

२०५१ को मध्यावधि निर्वाचनमा बाबुले छाडेको धनुषा–४ बाट उनी पहिलोपटक सांसद् भए। २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए।

उनले जनकपुर नगर समेटिएको धनुषा–४ छोड्नुको प्रमुख कारण थियो– त्यो निर्वाचन क्षेत्रमा जातिवादी, अतिवादी र आपराधिक सोच भएकाहरू निर्णायक बन्नु।

तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल बौद्धिक राजनीतिकर्मीहरूका लागि जनकपुर त्यसै पनि जोखिमपूर्ण क्षेत्र भएको बताउँछन्, जसले जहिल्यै अप्रत्यासित नतीजा दिन्छ।

त्यसो त, मधेशी समुदायका भए पनि कांग्रेसको सिंगो पार्टी संगठनमा छाएका नेता विमलेन्द्र पछिल्लो समय जातिवादी रूपमा देखापरेको आरोप पनि लाग्ने गरेको छ। संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरणलगायतका मागले कांग्रेसभित्र हल्लीखल्ली भएको थियो।

२०६३ सालको मधेश आन्दोलनमा सबभन्दा ज्यादा साम्प्रदायिक भावना जनकपुरमै भड्कियो। पहाडी समुदायका दुई हजारभन्दा बढी बासिन्दा विस्थापित भए। विमलेन्द्रमाथि कांग्रेस महामन्त्री भएर पनि मधेश आन्दोलनमा सहयोग गरेको र पहाडे समुदाय लखेटिने अवस्था आउँदा आँखा चिम्लेको आरोप लाग्यो।

“कांग्रेसका मधेशी नेता–कार्यकर्ता विमलेन्द्रको त्यो भूमिकाबारे जानकार छन्, बेलाबेला कुरा पनि गर्छन्”, कांग्रेसका एक नेता भन्छन्, “उनले एउटा समुदायविशेषको नेताजस्तो भूमिका नखेलेको भए मिथिलाको केन्द्रबाट दुईहजार पहाडे परिवार विस्थापित हुने अवस्था शायदै आउँथ्यो।”

पछिल्लो मधेश आन्दोलनमा पनि आन्दोलनकारीलाई उक्साउने काम गरेको, पार्टीभित्र पनि ‘मधेशी नेता’ का रूपमा बढी पेश हुनथालेको र विरोधीप्रति बढी ‘असहिष्णु’ भएको आरोपका बीच विमलेन्द्र निधिलाई कांग्रेसको भावी नेतृत्वको रूपमा ‘प्रोजेक्सन’ गर्न थालिएको छ।

जनकपुरका वृषेशचन्द्र लाल, २०३६ सालको विद्यार्थी आन्दोलनका चर्चित नेविसंघ नेता युवराज खातीलगायत थुप्रै नेता उनकै कोपभाजनमा परेको कांग्रेसका नेताहरू नै बताउँछन्।

कांग्रेसका एक नेता त्यही कारण धनुषा र आसपासका जिल्लाका नेता–कार्यकर्ताले निधिको विरोध गर्न छाडेको बताउँछन्। उनी भन्छन्, “विरोधी र प्रतिस्पर्धीलाई कुटिल ढंगले शालीनतापूर्वक तह लगाउने उनको खूबीबाट सबै हायलकायल छन्।”

नेपाली कांग्रेसमा नेतालाई ‘दाइ’ भनेर सम्बोधन गर्ने चलन छ। पछिल्लो समयमा गुट चलाउने नेताहरूले यस्तो सम्मान पाउने गरेका छन्।
विमलेन्द्र कार्यकर्तामाझ् ‘विमल दाइ’ का रूपमा चिनिन्छन्। मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुनथालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् या थप जातिवादी भएर निस्कन्छन्, अब उनले लिने निर्णय र खेल्ने भूमिकामै निर्भर हुनेछ।

“दुई दशकअघि नेपाली कांग्रेसको बहुमतले प्रधानमन्त्री बनाउने निर्णय गर्दागर्दै महेन्द्रनारायण निधि जनकपुर फर्किनुपरेको थियो”, जनकपुरका प्राध्यापक सुरेन्द्र लाभ भन्छन्, “आज त्यही हैसियतमा पुग्न थालेका उनका छोरा विमलेन्द्रमाथि मधेशी भएकै कारण भोग्नुपर्ने चुनौती पनि छन्।”

विमलेन्द्रले ठूलो पार्टीमा षड्यन्त्र गरेर सिध्याउने विगतबाट पाठ सिक्दै, जनतासँग जोडिन नसकेको आफ्नै सामन्ती शैलीको राजनीतिमा बदलाव ल्याउँदै मधेश र कांग्रेसमा मात्र नभएर सबै पार्टी र सिंगो देशसँग सम्बन्ध राख्ने क्षमता देखाउनुपर्ने बेला आएको प्रा. लाभ बताउँछन्।

त्यस्तै, तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल पटकपटक मन्त्री हुँदा पनि जनकपुर शहरको दुरवस्था सुधारको पहल नगर्ने चालालाई विमलेन्द्रका आगामी दिनसँग जोडेर हेर्नुपर्ने बताउँछन्। “आज मिथिला अपराधको केन्द्र भएको छ”, लाल भन्छन्, “गृहमन्त्रीका रूपमा जनकपुरमा अपराध र माफियाराज अन्त्य गरेनन् भने उनीमाथि अप्रत्यक्ष नै सही, माफिया संरक्षणको आरोप लाग्नेछ।”

हिमाल खवर पत्रिकाबाट साभार गरिएको अंशः सम्पादक