१० पुष, काठमाडौं । पर्यटक भिषामा नेपाल आउने र यहाँ अड्डा जमाएर अपराधको संजाल बढाउने ठूलो चिनियाँ गिरोह काठमाडौंबाट पक्राउ परेको छ ।

महिला र पुरुषगरी १ सय २२ जनालाई काठमाडौंका विभिन्न स्थानमा छापा मारी प्रहरीले गत साेमबार पक्राउ गरेको हो । यति ठूलो संख्यामा विदेशीकाे गिरोह पक्राउ परेको यो पहिलो पटक भएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले बताए ।चिनियाँ नागरिकहरु संकाश्पद गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापमारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चिनियाँ नागरिकहरु एटिएम मेशिन ह्याक, साइबर अपराध, सुन तस्करीलगायतका विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ । उनीहरुका पासपोर्ट र ल्यापटप जफत गरिएको प्रहरी प्रमुख सुवेदीले बताए । डिएसपी होबिन्द्र बोगटीका अनुसार चिनियाँ दुतावास चिनियाँ नागरिकहरु पक्राउ परेकोबारे जानकार रहेको बताएका छन् ।

नेपालमा बसेर यहाँ मात्रै नभई चीनमै समेत अपराधको सजाल विस्तार गरिरहेका उनीहरु चीनको पनि निशानामा थिए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गैगं सुहानले आफूहरुले नेपाल प्रहरीसँगको समन्वयमा नै उनीहरुलाई पक्राउ गरिएको बताए । कानुन कार्यान्वयनका लागि छिमेकी देशहरुसँग सहकार्य गर्न चीन तयार रहेको उनको भनाई थियो । नेपालमा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेको विषयमा सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यति ठूलो संख्यामा विदेशीहरु पक्राउ परेपछि भाषा नबुझेका कारण उनीहरु के के अपराधमा संलग्न छन् भनेर प्रहरीलाई बयान लिन र मुद्दा चलाउन पनि समस्या परेको छ । उनीहरुमध्ये यहाँ अपराध गर्नेलाई यतै मुद्दा चलाउने र चीनमा अपराध गर्नेलाई उतै पठाउने तयारी गरिएको प्रहरीको भनाई छ ।

नेपाल र चीनबीच गएको अक्टुबरमा राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका बेला आपराधिक मामिलामा आपसी सहयातासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । चिनियाँ नागरिकहरु एशियाली देशहरुमा नियमित रुपमा विभिन्न अवैध क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । गत हप्तामात्रै फिलिपिन्समा विना अनुमति जुवा अखडा संचालन गरिरहेका ३ सय ४२ चिनियाँ नागरिक पक्राउ परेका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको १० महिनामा १ लाख ३४ हजार चिनियाँ पर्यटक नेपाल आएका छन् । यो गतवर्षको यसै अवधिमा भन्दा ९ दशमलब २ प्रतिशतले बढी हो । यसरी पर्यटक भिषामा आउनेमध्येकै केही भने यहाँ लुकेर आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ ।