२२ फागुन, एजेन्सी । लामो समयदेखि ट्वीट इडिट गर्ने मिल्ने फिचर माग भइरहेको समयमा ट्वीटरले अब नयाँ फिचरको ल्याउनको लागि परीक्षण गरिरहेको छ । ट्वीटरमा फेसबुक र इंस्टाग्रामको जस्तै ‘फ्लीट’ नामक फिचरको परीक्षण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नयाँ फिचरको माध्यमबाट ट्वीटरमा केही पोस्ट गर्दा अलग टाइमलाइनमा देखिने छ र उक्त पोस्ट २४ घण्टामा आफैँ हराउनेछ । ठिक यस्तै किसिमको फिचर अहिले फेसबुक र इंस्टाग्राममा छ । नयाँ आउने फिचरमा पनि अरु सामाजिक सञ्जालमा झैँ पोस्ट कतिजनाले देखे भनेर काउन्ट हुने व्यवस्था राख्न लागिएको ट्वीटर ग्रुपका प्रोडक्ट म्यानेजरद्वारा जारी ब्लगमा उल्लेख गरिएको छ ।

तत्कालको लागि यो फिचर ब्राजिलमा शुरु गरिएको फ्लीटको फिचरमा प्रयोगकर्ताले २ सय ८० वटासम्म टेक्स्ट क्यारेक्टरको प्रयोग गर्न सक्छन् । यस्ता फ्लीटहरु टाइमलाइनमा देखिएका ट्वीटहरु भन्दा माथि गोलो घेरामा देखिने छ । ब्राजिलमा केही समय परीक्षण गरिसकेपछि त्यहाँको प्रतिक्रिया हेरेर विश्वभरका लागि खुल्ला गरिने छ ।