माघ १८, काठमाडौं । आगामी निर्वाचनमा समानुपातिक तर्फ थ्रेसहोल्ड राख्ने विषयमा प्रमुख दलहरु सहमति नजिक पुगेका छन् । कम्तीमा ३ प्रतिशत थ्रेस होल्डको व्यवस्था हुनुपर्नेमा लगभग ठूला दल सहमति नजिक पुगेको एमाले सांसद तथा राज्य व्यवस्था समिति सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।

‘अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ’

शीर्ष तहमा सहमती भएपछि आजै राजनीतिक दलसम्बन्धी विधयेयककाको प्रतिवेदन पारित गरेर संसद पठाउने तयारी गरिएको छ । ठूला दलहरु थ्रेस होल्ड राख्न सहमति नजिक पुगिरहँदा साना दलहरु पनि संगठित रुपमा त्यसको विरोधमा उत्रिएका छन् ।

सत्ता पक्ष र प्रतिपक्ष १७ साना दलहरुले थ्रेस होल्ड नराख्न माग गर्दै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायत दलले कांग्रेस सभापति देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा मालेका सांसद अईन्द्र सुन्दर नेम्वाङले थ्रेसहोल्डले लोकतन्त्रको परिभाषा संकुचित गर्ने बताए । पहिलो र दोस्रो संविधानसभामा झण्डै २० हजार मत ल्याएका दलले एक सभासद पाएकामा अब झण्डै ९० हजारदेखि १ लाखसम्म मत ल्याउनेले मात्र सांसद पाउने भएकाले अर्को छुट्टै व्यवस्था गरिरहनु आवश्यक नहुने उनको तर्क छ ।

साना दलहरुको ज्ञापनपत्र बुझ्दै कांग्रेस सभापति देउवाले समावेशी लोकतन्त्रमा थ्रेसहोल्डको व्यवस्था सही नभएको भन्दै यसबारे छलफल गर्ने आश्वासन दिएको नेम्वाङले बताए । थ्रेस होल्डमा सहमति भएपछि स्थानीय तह निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट अघि बढ्नेछ ।

थ्रेसहोल्डसँगै विधेयकमा कार्यकाल बाँकी छँदै स्थानीय तहको निर्वाचन, भ्रष्टाचारको सजायँ भोगेकालाई उमेद्बार हुन दिने वा नदिने भन्ने विषयमा दलहरुबीच सहमति हुन बाँकी छ ।