१८ माघ, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृह कार्यमा जुटेका छन् । आफ्नो नेतृत्वको सरकार ढालेर कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकार गठन भएको छ महिनापछि ओली सरकार ढाल्ने खेलमा जुटेका हुन् ।

फाइल तस्बिर

ओलीले सार्वजनिक कायक्रममा नै अब सरकार ढल्ने अभिव्यक्ति दिन सुरु गरिसकेका छन् । सत्तारुढ दलबीच अविश्वास सृजना गर्नको लागि ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभपाति देउवालाई छुट्टाछुट्टै भेट्नेदेखि लिएर आफू निकट नेताहरुलाई सरकार ढाल्ने आफ्नो योजना सहित परिचालन गरेका छन् ।

ओलीको योजना नम्बर १ : कांग्रेस–माओवादीमा फाटो

ओली कुनै पनि हालतमा सरकार ढाल्ने योजनामा छन् । प्रचण्डले आफ्नो नेतृत्वका सरकार जसरी ढालेका थिए, त्यसैरी नै ढालेर बदला लिन चाहन्छन् ।

पार्टीमा ओलीले आफू निकटका नेताहरुलाई राखेर सरकार ढाल्ने योजनामा लाग्न निर्देशन दिएको उच्च स्रोतले बतायो । ओलीका निकट नेताहरुले कांग्रेस र माओवादीका नेताहरुसँग छलफल अगाडि बढाएका छन् । ओलीले पहिलो योजना अनुसार सत्तारुढ दल कांग्रेसभित्र फाटो ल्याउने र अविश्वास सृजना गर्न वातावरण बनाएका छन् ।दुई दलको बीचमा अविश्वास सृजना गरेर कांग्रेस वा माओवादीलाई साथ लिने नीति लिएका छन् ।

त्यसो त ओलीले प्रचण्डसँग कांग्रेसले साथ छोडे आफू समर्थन गर्न तयार रहेको बचन दिएका छन् भने देउवालाई प्रचण्डले सहज रुपमा सरकारको नेतृत्व हस्तान्तरण नगरे एमालेको समर्थनमा सरकार गठन गर्न सुझाव दिएका छन् । ओली दुई दलको बीचमा खेलेर ‘गेम’ गर्ने प्लानमा छन् ।

योजना नम्बर २:  थापा र गच्छदारलाई तान्ने

राप्रपा र फोरम लोकतान्त्रिक सत्तारुढ दल भएर पनि अहिले सरकारको कामप्रति चित्त बुझाइरहेका छैनन् । प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान सहित सरकारमा नल्याउदा सरकारसँग रुष्ट छन् ।

यतिसम्म कि राप्रपाले त सत्तारुढ दलमै बसेर सार्वजनिक लेखा समितिको सभापति चयनमा एमालेलाई मतदान गरेका छन् । राप्रपाबाट सरकारमा दुई मन्त्री भएपनि फोरम गच्छदारबाट सरकारमा मन्त्री छैनन् । यसको फाइदा उठाउदै अध्यक्ष ओली, थापा र गच्छदारसँग बाक्लै छलफल गर्न थालेका छन् । गच्छदारले त ओली निवास बालकोटमै पुगेर भेटवार्ता गर्ने गरका छन् ।

ओलीको योजना नम्बर ३:  मधेसी मोर्चालाई गाली गर्ने

एमाले अध्यक्ष ओली सुरुदेखि नै मधेसी मोर्चासँग आक्रमक छन् । ओलीकै कारण मधेसी मोर्चामा आबद्ध दलहरुको एकता टुटेको छैन् । मधेसी मोर्चा पनि ओलीसँग निकै रुष्ट बन्दै आएको छ । जब जब सहमति निर्माणको अवस्था सृजना हुन्छ, तब तब ओली मधेसी मोर्चालाई गाली गर्ने गर्छन् । अहिले पनि मोर्चाप्रति ओलीले कटाक्ष गरेका छन् ।

मधेसी मोर्चालाई गाली गर्ने र मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको गठबन्धन कमजोर पार्ने ओलीको चाहना छ। जसको कारण नयाँ सरकार गठन हुने बाटो सजिलो हुनछ।

ओलीको योजना नम्बर ४: संशोधन विधेयक फेल गराउने

प्रमुख तीन दल बीचमा संसदमा संविधान संशोधन विधेयक दर्ता गर्ने र फेल गराउने सहमति अनुसार चालिस दिनदेखि बन्द भएको संसद सुचारु गर्न नै एमाले राजीभएको रहस्य नेताहरुले खोल्न थालेका छन् । सोही सहमति अनुसार सरकारले संविधान संशोधन विधेयकलाई पाखा लगाउदै अन्य कामलाई प्राथमिकता दिएको छ ।

अहिले संविधान संशोधन विधेयक पारित गराउनको लागि सरकारसँग बुहमत छैन । अहिले ओलीले विधेयक फेल गराउन सांसद लिएर बसेका छन् । मधेसी मोर्चाले जसरी पनि विधेयक पारित गराउन दबाब दिएको छ ।

सरकारसँग बहुमत नहुँदा स्वतः संविधान संशोधन विधेयक फेल हुने हुँदा पनि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता हुने भएपछि सरकार ढल्ने आकंलन ओलीले गरेका छन् ।

यो पढ्नुस्।
ओली फेरि कसरी हुन्छन् प्रधानमन्त्री ?
ट्रम्पको प्रतिबन्धले कसको चैन गयो, कसको निन्द्रा उड्यो?