१४ असार, गौशाला ।

तीन दिनदेखि महोत्तरीको यातायात बन्द हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बस कर्मचारीलाई कुटपिट गरेको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन जनकपुरद्वारा शनिबारदेखि महोत्तरी र धनुषामा यातायात सेवा बन्द गरेपछि महोत्तरीको जनजीवन प्रभावित भएको हो ।

यातायात सेवा बन्द भएपछि महोत्तरीको जलेश्वर–जनकपुर, जलेश्वर– बर्दिवास, जलेश्वर–मटिहानी, जलेश्वर–सम्सी, जलेश्वर–भिट्ठामोड सडकखण्डमा बसलगायत यातायातका साधन चलेका छैनन् भने यात्रुलाई निकै सास्ती भएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरबाट विभिन्न जिल्लाका लागि चल्ने कुनै पनि सवारी साधन नचल्दा विभिन्न कामकाजका लागि जिल्ला बाहिर जाने यात्रुको बिचल्ली भएको छ भने जिल्लाका विभिन्न क्षेत्रबाट सदरमुकाम आउने सवारी साधन नचल्दा जिल्ला सदरमुकाममा विभिन्न कामकाजका लागि आउनेको बिजोग भएको छ ।

त्यस्तै बिरामी, बिहे, व्रतबन्ध, श्राद्धलगायतका अत्यावश्यक कामकाज पनि प्रभावित भएका छन् ।

शुक्रबार धनुषाको जनकपुर–जटही सडकखण्डमा एक यात्रुबाहक बसका सहचालक र चालकलाई केही युवाले कुटपिट गरेको विरोधमा सङ्गठनले धनुषा र महोत्तरीमा चल्ने बसलगायत सवारी साधन अनिश्चितकालका लागि बन्द गरेको छ ।