गोकुल बानियाँ
१९ साउन पोखरा । पछिल्लो समय बिभिन्न समुदायले सौन्दर्य प्रतियोगिता गर्ने होड चलेका बेला दलित युवतीको सौन्दर्य प्रतियोगिता गर्नेहरु पनि निस्किएका छन् । हिजो मात्र पहिलो मिस दलित प्रतियोगिताका आयोजनाको जानकारी दिएकोमा आज पुन दलित युवतिलाईनै लक्षित गरी मिस डाईनामिक प्रतियोगिता आयोजनाको घोषणा भएको छ ।
दलित समुदायको क्षेत्रमा काम गर्ने संघ संस्थाबिचको प्रतिश्पर्धाले एउटै समुदायलाई लक्षित गरी एकै समयमा दुई छुट्टा छुट्टै प्रतियोगिता आयोजना गर्न लागिएको हो । दलित समाजकल्याण संघ कास्कीको आयोजनामा असोज १९ गते मिस दलितको फाईनल प्रतियोगिता हुदै छ भने सोहि समुदायको क्षेत्रमा काम गर्ने अर्को संस्था स्टार टिम वर्क नेपालको आयोजनामा असोजकै दोस्रो साता पहिलो मिस डाईनामिकको घोषणा गर्ने तयारी गरिएको छ ।
दुई वटै आयोजकको एउटै लक्ष्य दलित युवतीको प्रतिभा प्रष्फुटन गर्ने रहेकोे छ । मिस डाईनामिकको लागि पाच ओटै बिकास क्षेत्रमा गई सहभागि छनौट गरिने आयोजक स्टार टिमवर्क नेपालका निर्देशक प्रेम बहादुर परियारले बताए । पहिलो चरणमा देशभरका करिब ५ सय दलित युवतिको सहभागिता रहने आयोजकको अनुमान छ । प्रतियोगितामा १६ देखि २५ बर्ष उमेर समुहका युवतिहरुलाई सहभागि गराईने प्रतियोगिता संयोजक प्रकाश दिप नेपालीले जनाए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च अनुमान गरिएको छ ।