१७ माघ, काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर पार्टी भित्रै र पार्टी बाहिरै दुवैतिर आलोचनाका पात्र बनेका छन् । संसदमा २०७ सिट रहेको सबैभन्दा ठूलो, सत्तारुढ पार्टी नेपाली कांग्रेसले राजनीतिक निकासका र पार्टीकै लागि प्रभावकारी भूमिका नखेलेको भन्दै सो पार्टीका सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएको हो।

संविधान संसोधनलाई कसरी अघि बढाउने, कस्तो चुनाव कसरी गर्ने कहिले गर्ने भन्ने जस्ता मुद्दामा प्रभावकारी पहलकदमी नलिएको भन्दै देउवाको पार्टी बाहिर तीव्र आलोचना भएको हो । यसरी आलोचनामा गर्नेमा एमाले सबैभन्दा अगाडि रहेको छ ।

ओलीले त कांग्रेस र माओवादीले राष्ट्रवादको नारा छोडेको भन्दै एमालेको जस्तै राष्ट्रवादी नीति लिन आग्रह गरेका छन् । कांग्रेस र माओवादीले बदमासी गरेको आरोपसमेत ओलीले सहिद दिवसको अवसरमा माइतीघर मण्डलामा १० मिटर अग्लो र ७ मिटर लामो राष्ट्रिय झण्डा फहराउँदै आइतबार प्रतिक्रिया दिएका थिए ।

ओलीको आरोप नवलपरासीदेखि बर्दियासम्म तराईको मात्रै प्रदेश दिइएकोप्रति लक्षित थियो । यसैलाई उनले राष्ट्रघातको संज्ञा दिंदै आएका छन् ।

देउवाको कमजोर भूमिका

ठूलो पार्टी भएर पनि राजनीतिक निकासका लागि देउवाले देखिने गरी कुनै भूमिका खेलिरहेको छैन । बरु देउवा उल्टै देउवा पार्टी काममा घुम्ने, बुढानिलकण्ठमा सुस्ताउने मात्र गर्दै आएका छन् । चुनाव घोषणाका लागि प्रधानमन्त्रीलाई पर्याप्त दबाब दिन नसकेको आरोपसमेत देउवामाथि लाग्ने गरेको छ ।

वार्ता गर्ने टिम नै छैन

संविधान संसोधन, निर्वाचनका विषयमा छलफल गर्नका लागि देउवाको प्रभावकारी टिम पनि छैन । वार्ताको लागि देउवाको पक्षबाट गृहमन्त्री विमलेन्द्र निधि र अर्का मन्त्री रमेश लेखक खटिएका छन् तर, उनीहरुलाई मन्त्रालयकै काम गर्दा ठिक्क छ । यी बाहेक अरु नेतालाई विश्वास गरेर देउवाले वार्ताको लागि खटाएका छैनन् ।

यसरी आलोचित हुँदैछन् देउवा

संसोधनमा महिनौंदेखि परेको गाँठो फुकाउन त देउवा प्रभावशाली बनिरहेका छैनन् छैनन् उनको कार्यशैलीमाथि पार्टीभित्रै तीव्र रुपमा विरोध हुन थालेको छ । खासगरी युवा नेताहरु देउवाको काम गर्ने शैलीसँग सहमत नभएको बताइन्छ ।

महत्वपूर्ण विषयमा पनि छलफल नगर्ने र एक्लै निर्णय गर्ने, वातावरण नबनाउने जस्ता देउवाको शैलीबाट नेताहरु असन्तुष्ट छन् । ठूलो पार्टी भएर पनि निकासका लागि कांग्रेसले दलबीच विश्वासको वातावरण पनि बनाउन नसकेको र संसोधन र निर्वाचनमा कसरी अघि बढ्ने भन्नेमा केही पनि विकल्प नल्याएको भन्दै पार्टीभित्रैबाट देउवाको आलोचना भएको हो ।

पार्टी क्बलजस्तो बनाएपछि झन् आलोचना

देउवाले एक वर्ष पुग्न लाग्दासमेत पार्टीमा पदाधिकारी चयन, विभाग गठन, कार्यसम्पादन समिति गठन, संसदीय समिति गठन नगरेको भन्दै देउवाको आलोचना भइरहेको छ । विधान अनुसार चल्ने हो भने देउवाले चैतको पहिलो हप्तामा निर्वाचित भएको पद लिएपछिको दुई महिनामा पार्टीका यी कार्यभारलाई पूरा गर्नुपथ्र्यो । तर, आकांक्षी नेता धेरै भएपछि देउवाले यी पदमा टुंगो लगाउन नसकेका हुन् ।