२५ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक पाउने नेपाली खेलाडीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् । बुधबार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले सम्पूर्ण नेपाली खेलाडीहरुलाई बधाई दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले ट्वीटमा सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायकहरुलाई पनि धन्यवाद दिएकी छन् । साथै उनले १३ औँ दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ भएको समेत बताएकी छन् ।

फाइल तस्बिर

मंसिर १५ गतदेखि शुरु भएको १३ औँ साग मंसिर २४ गतेसम्म चलेको थियो । खेलको उद्घाटन मंसिर १५ गते राष्ट्रपति भण्डारीले दशरथ रंगशाला पुगेर गरेकी थिइन् । १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई ५१ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित कुल २ सय ६ वटा पदक प्राप्त भएको छ ।