२१ मंसिर, काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकुद सागमा म्याराथनतर्फ नेपाली धावक किरण सिंहले स्वर्ण पदक जितेका छन् ।

शनिवार बिहान भएको ४२ किलोमिटरको म्याराथन सिंहले दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन् । म्याराथनका रजत र काश्य पदक भारतीय धावकहरूले जिते ।

भारतका रशपाल सिंहले ४० सेकेन्ड पछाडि रहँदै रजत जिते भने शेर सिंह विजेताभन्दा ५० सेकेन्ड पछाडि रहेर काश्यमा सीमित भए । यो नेपालले यो सागमा जितेको ४२औँ स्वर्ण पदक हो ।

यस्तै महिलातर्फ भने नेपालकी पुष्पा भण्डारीले रजत पदक हात पारेकी छन् । यसतर्फ स्वर्णपदक श्रीलङ्काकी हिरुनी विजारत्नेले हात पारेकी छन् ।

उनले दुई घन्टा ४१ मिनेट २४ सेकेन्डमा म्याराथन पूरा गर्दै स्वर्ण पदक जितिन् । नेपालकी पुष्पाले नौ मिनेटभन्दा बढी समयले पछाडि पारिन् । काश्य भारतकी ज्योति गावतले जितिन् ।