१७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुवुदु दासानायके भैरहवा ग्लाडियटर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

भैरहवाले दासानायकेलाई एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको आगामी सिजनका लागि प्रशिक्षक नियुक्त गरेको हो । भैरहवाले आज प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, “खेलाडीहरुले आफ्नो क्षमताको पूर्ण प्रदर्शनका लागि सहयोग गर्न हामी सन् २०२० को सिजनका लागि पुबुदु दासानायकेलाई प्रमुख प्रशिक्षकका रुपमा घोषणा गर्न पाउँदा हर्षित भएका छौं ।”

दासानायके नेपाली राष्ट्रिय क्रिकेटलाई एउटा आकार दिने एक प्रमुख मुर्तिकारजस्तै हुन् । उनको प्रशिक्षकत्वका क्रममा सन् २०१३ मा नेपालले आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री जितेको थियो । सन् २०१४ मा बंगलादेशमा आयोजित आइसीसी वल्ड टि ट्वेन्टी क्रिकेटमा पनि उनी नै प्रशिक्षक थिए । “यस सिजनको इपीएलमा हाम्रो कोच बन्ने प्रस्ताव उहाँले स्वीकार गर्नुभएकोमा हामी खुशी भएका छौं”, विज्ञप्तीमा भनिएको छ । “दासानायकेको अनुबन्ध एक सिजनका लागि मात्रै भएको प्रष्ट पारिएको छ ।

दासानायकेले भने आफूले भैरहवा ग्लाडिटरको प्रशिक्षकको भूमिका प्राप्त गर्नु खुशीको कुरा भएको बताएका छन् । ूनेपाल सधै मेरो मनमा बसिरहेको देश हो,” दासानायकेले भने, “मलाई फेरि नेपाल आउने अवसर दिएकोमा भैरहवा ग्लाडियटर्सलाई धन्यवाद दिन चाहन्छु ।” उनले नेपाली क्रिकेटका लागि आफूले सक्दो योगदान गर्ने पनि उनको भनाई छ । आदित्य सांघाइको भैरहवा ग्लाडियटर्सका कप्तान शरद भेषावकर हुन् ।