२५ माघ, काठमाडौं ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै आएका सत्तारुढ दल राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । सरकारले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नसक्दा असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने तयारी गरेको हो ।

सरकारमा रहेर पनि कुनै छलफल नै नगरेको, संविधान संशोधन विधेयक तयार गर्ने बेलामा कुनै परामर्श नगरेको, सरकार एकलौटी रुपमा चलेको लगायतको असन्तुष्टि जनाउदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले तीन बुँदे सहमति कार्यान्वयन गर्न र निर्वाचन गर्न नसकेपछि सरकारको औचित्यस सकिएको बताए । उनले नेपाली हेडलाइन्ससँग भने,‘अब सरकारमा बस्नुको औचित्य छैन, संविधान कार्यान्वयन गर्न नसक्ने सरकारलाई साथ दिएर अब बस्न सक्दैनौ ।’

यो पढ्नुस्: अब प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनुपर्छः राप्रपा

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेकोले सकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

विराटनगर आयोजित एक कार्यक्रममा गच्छदारले सरकारको औचित्य सकिएको बताएका हुन् । ओली नेतृत्वमा रहेका गच्छदार उपप्रधानमन्त्री सहितको ठुलै मन्त्रालय पाउने आशामा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका थिए ।

छ महिना वितिसक्दा समेत सरकारले आफ्नो पार्टीलाई सरकारमा सहभागी नगराएको भन्दै फोरम लोकतान्त्रिक असन्तुष्ट बन्दै आएको छ ।

गच्छदारलाई सरकारमा सहभागी नगराउनको लागि मधेसी मोर्चाले दबाब दिएको थियो । प्रधानमन्त्री प्रचण्डले थापा र गच्छदारलाई सरकारमा सहभागी गराउने तयारी गरेपनि सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाउदै सरकारमा सहभागी गराउने योजना असफल भएको थियो ।

थापा र गच्छदारलाई सरकारमा सहभागी गराउन नसकेपछि एक सिटे दुई सांसदलाई सहभागी गराएर प्रचण्डले पाँचौ पटक सरकार विस्तार गरेका थिए ।