४ भदौं, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन इच्छुक रहेको बताएका छन् ।modi-and-bimalendra-nidhi

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणका रहेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीले भारत नेपालमा शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहने बताएका हुन् ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । हैदरावाद हाउसमा भएको ४५ मिनेटको भेटवार्तामा प्रधानमन्त्री मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए ।

जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेशी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाईनेबारे विश्वास दिलाएका थिए ।

भेटमा निधिले संविधान कार्यान्वयनमा भारतको सहयोग, द्विपक्षीय सम्बन्ध सुधारका साथै दुई मुलुकबीच उच्चस्तरिय भ्रमण गराउने बिषयमा मोदीसंग कुराकानी गरेका छन् ।

मोदीले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउनेगरि अघि बढ्नुपर्ने धारणा राखेका थिए । मोदीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘संविधान कार्यान्वयन भएर नेपालमा विकास भएको हेर्न हामी आतुर छौं ।’

निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गरेका थिए । जवाफमा मोदीले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए ।

भेटमा भारतको तर्फबाट मोदीसँगै विदेश सचिव एस. जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल रहेका थिए भने नेपालको तर्फबाट मन्त्री निधि र भारतका लागि कार्यवाहक राजदुत कृष्णप्रसाद ढकाल थिए ।

यो पनि पढ्नुस्।
भारत प्रचण्डसँग निकट भएर काम गर्न तयारः भारतीय गृहमन्त्री सिंह
चिनियाँ राष्ट्रपति नेपाल आउन सकारात्मकः महरा