२८ भदौ, एजेन्सी– भारतले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । श्रीलंकामा जारी प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा बंगलादेशविरुद्ध भारतले पाँच रनको रोमाञ्चक जीत निकालेको हो ।

योसँगै भारतले यू–१९ एसिया कपको उपाधि सातौं पटक जित्न सफल भएको छ । कोलम्बोमा भारतले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । बंगलादेशका लागि कप्तान अकबर अलीले २३ रन जोडे । यस्तै मृतुनजोय चौधरीले २१ तथा तान्जिम हसन सकिबले १२ रन बनाए ।

जीत नजिक पुगेको बंगलादेशलाई सस्तैमा समेट्न भारतका अथर्भा अन्कोलेकारले ५ विकेट लिए । उनले यसमा २८ रन खर्चिए । यस्तै आकाश सिंहले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ३२ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमा समेटिएको थियो । भारतका लागि करण लालले सर्वाधिक ३७ तथा कप्तान ध्रुव चन्द जुरेलले ३३ रन बनाए ।

त्यस्तै साश्वत रावतले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बंगलादेशका मृतुनजोय चौधरी र सामिम होसेनले ३–३ विकेट लिए । सेमिफाइनलमा भने दुवै टोलीले भाग्यमानी बन्दै फाइनलमा भेट पक्का गरेका हुन् । बिहीबार वर्षाले दुवै सेमिफाइनल खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेका थिए ।