६ चैत, फलेवास (पर्वत)।
धौलागिरि अञ्चललाई सिद्धार्थ राजमार्गसँग जोड्ने छोटो सडकको रुपमा मानिने पुतलीखेत–कार्कीनेटा–कुश्मा सडकको ‘रुट’ परिवर्तन गरिएको छ ।

छोटो दूरी तथा बैकल्पिक सडकको रुपमा लिएर काम सुरु भएको सो सडकलाई एकाएक राष्ट्रिय योजना आयोगले नाम नै परिवर्तन गरेर पठाएपछि निर्माण कार्य अन्योलमा परेको छ ।

पोखरा–बागलुङ राजमार्गको निर्माणसँगै अलपत्र परेको सो योजना कार्किनेटा–ठूलीपोखरी–पिपलटारी–पकुवा हुँदै कुश्मा जोड्ने गरी विगत एक दशकदेखि काम हुँदै आएको थियो ।

योजना आयोगबाटै रुट नै परिवर्तन गरी कार्किनेटा–शङ्करपोखरी–खानिगाउँ हुँदै कुश्मा सडक संशोधन भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । जिल्लाका जनप्रतिनिधिले नै सडकको रुट परिवर्तन गरी आफ्नो घर पुर्याउने योजना बनाएको थाहा पाएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

आयोगले रातो किताबमा प्रकाशित गरेर बोलपत्र (टेण्डर)समेत भइसकेपछि योजनाको रुट नै परिवर्तन भएर आएपछि सडक डिभिजन कार्यालय बागलुङका कर्मचारीसमेत अचम्भित बनेको बताउँछन् । टेण्डर भइसकेपछि योजना संशोधन भएर आएपछि काम गर्नसमेत अन्योल भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले बताए। “काम सुरु भएपछि संशोधन भएर आएको छ”–उनले भने, “धेरैपछि मात्रै संशोधन भएर चिठी आयो, काम अघि बढाउन अन्योल भएको छ ।”

कार्किनेटा–ठूलीपोखरी हुँदै कुश्मा जाने सडक १४ किलोमिटर र शङ्करपोखरी–फलेवास सडक २४ किमी भन्दा लामो हुने भएकाले सो सडक सान्दर्भिक नभएको उनको तर्क छ । उनले छोटो सडक नै उपयुक्त हुने भएकाले जताको बाटो छोटो हुन्छ, त्यही सडक निर्माण गर्नुपर्ने बताए ।

सोही सडकमा सडक विभागको केन्द्रबाट काम हुने गरी रु दुई करोड ५० लाखसमेत विनियोजन भई टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । पोखरा–बागलुङ राजमार्गको विकल्प र धौलागिरिलाई सिद्धार्थ राजमार्गसँग जोड्ने एकमात्र छोटो सडक भएकाले ठूलीपोखरी हुँदै लैजानु उपयुक्त हुने उनको भनाइ छ ।

फलेवासलाई सडक सञ्जालसँग जोड्नका लागि छुट्टै योजना भएकाले कार्किनेटा–ठूलीपोखरी–कुस्मा सडकलाई प्रभावित गराउनु राम्रो नहुने स्थानीयको मत छ । स्थानीयले तत्काल योजनालाई पुरानै ठाउँमा काम हुने वातावरण गराउन तथा रुट परिवर्तन सच्याउन माग गरेका छन् । स्थानीयले एक हजार २०० को हस्ताक्षर सङ्कलन गरेर स्थानीय प्रशासनका साथै राष्ट्रिय योजना आयोगमा बुझाउने तयारी गरिरहेका छन् । योजना पुरानै अवस्थामा काम नभए आन्दोलनमा उत्रिने स्थानीय भागिरथ तिवारीले बताए।

पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले योजनालाई प्रभावित गराउने काम नगरेको र जुन सडक गएपनि छोटो सडक आवश्यक भएकाले आफूले केही नगरेको प्रतिक्रिया दिए । रासस