११ माघ, काठमाडौं । देशका धादिङ, सप्तरी, बैतडी, नवलपरासी (पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३–०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय बद्री बहादुर कार्कीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका कार्कीको ६ नम्बर बाहिनी बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सितापुरस्थित सडकमा ना ६ ख ४०५२ नम्बरको ट्रकले बा ८९ प ५२९२ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिका बस्ने करिव ४५ वर्षीय राम बहादुर कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीको सूर्नया गाउँपालिका–२ सिन्के लेकस्थित सडकमा से २ त ९०१ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका बस्ने २६ वर्षीय दिल बहादुर चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।

फाइल तस्बिर

नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका–७ साईफन चोकस्थित सडकमा लु १ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बागमती नगरपालिका–२ स्थित सडकमा ग १ ख ८१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय छोयाङ दोर्जेको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।