१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई अभद्र व्यवहार अन्तर्गतको अनुसन्धानको लागि ४ दिन म्याद थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले उनीमाथि लागेको मुद्दाको अनुसन्धान गर्न ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकुलाई निर्देशन दिएको छ ।

यसबीच उनलाई सोमबार दिउँसो प्रहरी परिसर टेकुकोको हिरासतमा राखिने छ । हिरासतमा लैजानुअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रत्रिक्रिया दिँदै उनले कानुनभन्दा माथि कोही नभएको बताएकी छन् । उनले भनिन्, ‘उहाँहरु (प्रहरी)ले आफ्नो काम गर्नुहुन्छ, हामीले कोअपरेट गर्नुपर्छ । हामी सबैले संयमित हनुपर्छ भनेर मैले पनि सिकेँ, अरुले पनि सिक्नुपर्छ ।’

प्रहरीले आफ्नो काम गरिरहेको बताउँदै उनले थपिन्, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन, त तपाईंहरु, न म, न त उहाँहरु (प्रहरी)नै, त्यसकारणले गर्दा कानुनलाई सहयोग गर्नको लासि आको हो ।’ प्रहरीले आफूलाई सौहार्दपूर्ण व्यवहार गरेको भन्दै आस्था भन्छिन्, ‘उहाँहरुले मलाई एकदमै सौहार्दपूर्ण वातावरणमा आफ्ना कुराहरु राख्न दिनुभएको छ । कानुनको हिसाबले जे हुन्छ त्यसलाई मैले सहर्ष स्वीकार गर्छु । कानुननलाई कसैले नमिचौँ भन्न चाहान्छु ।’

यस्तै उनले अन्तिममा आफूलाई अहिलेसम्म कुनैपनि समस्या नभएको र चिन्ता गर्नेलाई धन्यवाद दिएकी छन् ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिका टर्मिनलबाट भद्रपुर जान लागेकी आस्थाले प्रहरी चेकिङको क्रममा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै भद्रपुर विमान झरेपछि फेसबुकमा लाइभ गर्दै प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गरेकी थिइन् । उनी कार्यक्रमको लागि दार्जिलिङ र सिक्किम गएकी थिइन् । त्यहाँबाट उनी आइतबार काठमाडौं आएकी थिइन् । सोमबार बिहान ८ बजे आस्था आफ्नो बुवासँग महानगरी प्रहरी परिसर टेकु पुगेकी थिइन् ।