२० कात्तिक, एजेन्सी । इंडियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणमा सम्भवतः पहिला जस्तै झकिझकाउ नहुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसलाई फजुलखर्च भएको बताएको छ । यसको लागि छुट्याइएको रकम कुनै परोपकारी काममा खर्च गरिने बीसीसीआईले जनाएको छ । फेब्रुअरी २०१९ मा पुलवामा आक्रमणको कारण उद्घाटन समारोह रद्द भएको थियो । पछि उद्घाटन समारोहको लागि छुट्याइएको रकम सुरक्षा बलहरुमा दिइएको थियो ।

अंग्रेजी वेबसाइट इंडियन एक्सप्रेससँगको कुराकानीमा बीसीसीआईको एक अधिकारीले उद्घाटन समारोहमा हुने खर्चलाई फजुलखर्च र बर्बादी भनेको छ । उनले भने, ‘आईपीएलको ओपनिङ सेरेमनी फजुलखर्च हो । दर्शकहरुलाई पनि यसका कुनै रुची छैन । र यसको लागि हामी ठूलो रकम खर्च गर्नुपर्छ ।’ आईपीएल २०१९ को उद्घाटन समारोहको लागि २० करोड रुपैयाँ खर्च छुट्याइएको थियो । जसमध्ये ११ करोढ भारतीय सेना, ७ करोड सीआरपीएफ र १–१ करोड रुपैयाँ नौसेना र वायुसेनाको राहत कोषमा दिएका थिए ।

सौरभ गांगुली बीसीसीआईको नयाँ अध्यक्ष भएका छन् । गांगुली अध्यक्ष भएपछि यसको कार्यान्वयन हुन लागेको बताएका पनि यसको पहल भने पूर्व अध्यक्ष विनोद रायले गरेका थिए । आईपीएलको यसअघिको उद्घाटन समारोहमा बलिउड सहित अन्य विदेशी कलाकारहरुलाई बोलाएर सांगीतिक प्रस्तुती दिन लगाइन्थ्यो ।

त्यसैगरी २०२० को आईपीएलमा नियमित अम्पाएरको अलावा अब नोबल हेनएको लागि एकजना छुट्टै अम्पाएर राखिने विषयमा छलफल भएको छ । बीसीसीआईका एक अधिकारीले भनेका छन्, ‘आईपीएलको सञ्चालक परिषदको पहिलो बैठकमा यसको कुरा उठेको छ ।’ यसअघिको आईपीएलमा नोबलको विषयमा रोयल च्यालेन्जर्स बैंलोरका कप्तान र एम्पाएरबीच मैदानमै विवाद भएको थियो ।

आईपीएल अन्तर्गत २०२० को खेल अप्रिल महिनामा हुनेछ भने अक्सन २०१९ को डिसेम्बरमा हुने बताइएको छ ।