६ चैत, काठमाडौ  । खाना खाइसकेपछि अथवा धेरै गुलियो, अमिलो पदार्थ खाई मुख कुल्ला (सफा) गर्न बिर्सनुभएको त छैन, होस गर्नुहोस् कतै मुख, दाँतको समस्या निम्त्याउँदै त हुनुहुन्न ।

 

लामो समयसम्म मुख कुल्ला नगर्दा क्यान्सरसमेत हुने सम्भावना बढ्ने दन्त चिकित्सकले जानकारी दिएका छन् । ‘स्वास्थ्य मुस्कान’ भन्ने नाराका साथ आज नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइएको मुख तथा दन्त स्वास्थ्य दिवसका अवसरमा चिकित्सकले सो जानकारी दिएका हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिएक लाखमा दश जनालाई मुखको क्यान्सर हुने गर्छ तर नेपालमा मुखको क्यान्सरबाट कति पीडित छन् यसको जानकारी छैन ।

 

brush teeth

 

 

कान्तिपुर डेन्टल कलेज (टिचिङ अस्पताल) एन्ड रिसर्च सेन्टरद्वारा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार नयाँ पुस्ता खास गरी सहरी क्षेत्रमा गुलियो पदार्थ बढी खाने, ग्रामीण क्षेत्रमा बढी अमिलो पदार्थ खाने तथा खानापछि तुरुन्त मुख सफा नगर्ने बानी बढिरहेको छ, जसले गर्दा मुख तथा दन्तका रोगी बढिरहेका छन् ।

 

चिकित्सकका अनुसार मुखको उपचार अन्य उपचारभन्दा बढी खर्चिलो हुने गर्छ । अस्पतालले मुख तथा दन्त रोगका बारेमा जनचेतना ¥यालीको आयोजनासमेत गरी चलाएको स्वास्थ्य शिविरमा अस्पतालमा कार्यरत चिकित्सकले निःशुल्क मुख तथा दन्तको परीक्षण गरेका थिए ।

 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले जनचेतनाको अभावमा मुख तथा दन्त परीक्षण गराउने प्रवृत्ति कम छ, यसलाई बढाउनु जरुरी छ भन्नुभयो । रासस