एकदिन सम्राट अकबरको सभामा सबै सदस्यहरूको हल्लागुल्ला मच्चिन थाल्यो, जसको कारण अकबर रिसाउँदै सभामा आइपुगे।

सभाका सदस्यहरूलाई “के को हल्ला हो यस्तो?” भनि सम्राट अकबरले सोधेपछि बल्ल थाहा भयो कि अघिल्लो रात राजाका सबै अनमोल रत्न, सुनचाँदी तथा गरगहनाहरू चोरी भइसकेको थियो। यस्तो समाचार सुनेर अकबर दङ्ग परे, किनभने सारा राज्यभरीमा सबैभन्दा सुरक्षित ठाउँ भनेकै राजाको दरबार थियो। यो समस्यालाई हल गर्न अकबरले बीरबललाई सभामा आउन आदेश दिए।

बीरबलले सबै कुरा सुनिसकेपछि भने- “हुजूर! राजदरबारमा बाहिरबाट चोर पसेर धनसम्पत्ती चोर्नु भनेको असम्भव कुरा हो। यो पक्कै पनि राज्यसभा भित्रकै कोहि एकजनाको कर्तुत हुनुपर्छ।”

यति भनेर बीरबलले तुरुन्तै सभाभित्र एउटा गधालाई ल्याए र खाँबोमा बाँधेर सबैलाई त्यस गधाको पुच्छर समाउँदै “मैले चोरेको छैन!” भन्न लगाए। बीरबलको यस्तो कुरा सुनेर सबैजना चकित भए, अचम्ममा परे। तैपनि सबैले त्यस गधाको पुच्छर समाउँदै “मैले चोरेको छैन!” भन्दै गए। राजा अकबरले पनि उसै गरे।Birbalidentifiesthethief

त्यसपछि बीरबलले सबैलाई आफ्नो हात देखाउन लगाए। अचम्मको कुरा, एकजना सभासदस्यको बाहेक सबैको हातमा कालो मसीको दाग लागेको थियो। खासमा कुरा के थियो भन्दा, बीरबलले जानीजानी गधाको पुच्छरमा कालो मसी पोतेका थिए। निर्दोष सदस्यहरूले त गधाको पुच्छर समातेका थिए, तर डरको कारण त्यस चोरले समातेजस्तो मात्रै गरेका थिए।

त्यसपछि त के चाहियो र? चोर समातियो बीरबलले फेरि एकपटक आफ्नो बुद्धिको प्रदर्शन गर्दै राजा अकबरको मन जित्न सफल भयो।

निष्कर्ष— “झूट बोले, कौवा काटे!”