कुशल श्रेष्ठ

माइक्रोबसको पछाडिको सिटमा बस्दा होस् या पेट्रोलको लाइनमा बस्दा होस्, कलेजको क्याण्टिनमा होस् या अफिसको खाजा ब्रेकमा होस्, साथीहरूसँग प्रतिष्पर्धा गर्दै मोबाइलमा गेम खेल्नुको मज्जा बेग्लै हुन्छ। यो स्मार्टफोनको फाइदा नै त्यहि हो। १० किलोको भारी कम्प्यूटरलाई एउटा सानो गोजीमा अट्ने मोबाइल बनाइदिएको छ प्रविधिले, अनि यसको फाइदा उठाउनु नै हाम्रो कर्तव्य हो भन्दा कसो होला?

आजभोली स्मार्टफोनको लागि विभिन्न गेम र अन्य एपहरूको निर्माण गर्ने होडबाजी चलेको छ। कसैलाई गेम खेल्ने रुची हुन्छ भने कसैलाई बनाउन। बनाउनेकै कुरा गर्दा एण्ड्रोइड प्ले स्टोरमा वर्षेनी औषत २ लाखभन्दा बढि एपहरू अपलोड हुन्छन्। स्टाटिस्टा.कम को एक आँकडाको अनुसार सन् २००९ डिसेम्बर देखि सन् २०१६ फेब्रुअरीसम्ममा एण्ड्रोइड प्लाटफर्ममा करीब २० लाखभन्दा बढि एपहरू अपलोड भैसकेका छन्।

यो त भयो आँकडाको कुरा। अब कुरा गरौँ सन् २०१६ मा निर्माण भएका फ्री एण्ड्रोइड गेमहरूको बारेमा। हुन त सन् २०१५ र २०१६ वर्षमा सबैभन्दा बढि डाउनलोड गरिएको र बढि खेलिएको गेममा Clash of Clans नै पर्छ। त्यो भन्दा पहिला भर्खरभर्खर एण्ड्रोइडको विकास भएको बेलामा Candy Crush ले सबैको मन जितेको थियो। यी गेमहरू त अझसम्म उच्च कोटिमा नै छन्। तर तीबाहेक पनि अन्य कैयौँ गेमहरू छन्, जुन खेल्नमा रोचक छ र समय गएको पत्तो पाइँदैन।Did You Play These Games

हेरौँ, सन् २०१६ का ५ उत्कृष्ट फ्री एण्ड्रोइड गेमहरूको सूची:-

१. पियानो टाइल्स २

म्यूजिक र फन को राम्रो समिश्रण गरिएको छ यो गेममा। हुन त यो गेमको पहिलो संस्करण ‘Don’t Tap The White Tile‘ सन् २०१४ मार्च २८ मा रिलिज भएको थियो र त्यतिबेला खासै चर्चा पाउन सकेन। तर सन् २०१५ अगस्ट १९ मा सोहि गेमको दोस्रो संस्करण ‘Piano Tiles 2‘ को रिलिजपश्चात भने यसले निकै चर्चा कमाउन सफल भएको थियो। दोस्रो संस्करणको चर्चाले गर्दा नै पहिलो संस्करणको पनि हिट बढ्नै क्रममा छ।Android Games- Piano Tiles 2

यो गेम खेल्न सजिलो र नियम पनि सजिलै छ। पियानोको सङ्गीतको गति र धूनसँगै कालो बक्स पनि निरन्तर तल झरिरहन्छ, हामीले गर्नुपर्ने एउटै काम भनेको ती बक्सहरूमा छुने हो। ती बक्सबाहेक अन्त कतै छोएमा गेम ओभर हुन्छ।

एण्ड्रोइड प्ले स्टोरमा यो गेमले कुल ५ मा ४.७ रेटिङ्ग प्राप्त गरेको छ। साथै यो गेम आइओएसमा पनि उपलब्ध छ।

२. ट्राफिक राइडर

एण्ड्रोइड प्ले स्टोरमा ४.७ रेटिङ्ग प्राप्त गर्न सफल यो गेम पनि खेल्नमा अति रमाइलो छ, विशेष गरी रेसिङ्ग गेम मन पराउनेहरूको लागि। गेमको नियम त सजिलो छ र तर खेल्न गाह्रो। डिभाइसलाई गाडिको ह्याण्डलजस्तै चलाएर भित्रको बाइकलाई ह्याण्डल गर्न सकिन्छ। यो गेमको ग्राफिक्स पनि मनमोहक छ, जति सुकै उच्च गतिमा पनि वरिपरिका दृश्यहरू प्रष्टै देख्न सकिन्छ।

३. ट्वीस्ट

यो पनि खेल्न रमाइलो, रोमाञ्चक र मास्टर गर्न गाह्रो खालको गेम हो। खेलको नियम सजिलो छ- एउटा बल हुन्छ, हाम्रो काम भनेको त्यस बललाई भुइँमा खस्न नदिने हो। बल अड्याउनको लागि टुक्रा टुक्रा भएर बक्सहरू आउँछन्, हामीले त्यसलाई घुमाउँदै बललाई अड्याउनुपर्छ।Android Games- Twist

एण्ड्रोइड प्ले स्टोरमा यस गेमले ४.२ रेटिङ्ग प्राप्त गर्न सफल भएको छ।

४. डेड इफेक्ट २

हुन त यो गेम First Person Shooting गेम हो, मतलब यसमा एउटा पात्रलाई हामीले नियन्त्रण गर्नुपर्ने हुन्छ, जसले विभिन्न किसिमका हात-हतियारहरू बोकेको हुन्छ र हाम्रो काम भनेको अगाडि देखिने डरलाग्दा भूतजस्ता दुश्मनहरूलाई मार्नुपर्ने हुन्छ। यो गेम सबैलाई रोचक र रमाइलो नलाग्न सक्छ। तर पहिले-पहिले कम्प्यूटरमा Desert Storm, Counter Strike जस्ता गेम रुचाउनेहरूको लागि यो गेम रमाइलो लाग्न सक्छ। गुगल प्ले स्टोरमा यो गेमले पनि ४.२ रेटिङ्ग प्राप्त गरेको छ।

५. एटोमाज

विज्ञानको Chemistry मन पराउनेहरूको लागि यो गेम अतिउत्तम हुन्छ। Atomas, एक पजल गेम हो र हरेक पजल गेमको लागि चाहिने एउटै कुरा भनेको ‘सरलता’ नै हो। यो गेममा पनि यहि आधारभूत कुरालाई समावेश गर्न खोजिएको छ। गेमको सुरुवातमा एउटा हाइड्रोजनको अणु दिएको हुन्छ र त्यसमा अणुहरू जोड्दै घटाउँदै कुनै निश्चित धातु सम्म पुर्याउनुपर्ने हुन्छ, जस्तै; सुन, चाँदि।

सुरुवातमा त खेल्न सजिलो छ यो गेम, तर खेल्दै गएपछि गुगलमा पेरियोडिक टेबल हेर्नैपर्ने हुन्छ। यो गेमले गुगल प्ले स्टोरमा ४.६ को रेटिङ्ग प्राप्त गर्न सफल भएको छ।

यो पनि हेर्नुहोस्-
GTA 6 गेमको निर्माणकार्य सुरु हुँदै…
चीनमा यो मोबाइल गेमले प्रति महिना कमाउँछ १०० मिलियन डलर…
फेसबुक म्यासेन्जरमा ‘बास्केटबल’ गेम खेल्न चाहनुहुन्छ? त्यसो भए यसो गर्नुहोस्…
विन्डोजको गेमको उद्धेश्य सोचेभन्दा फरक