कुशल श्रेष्ठ
नेपालका लगभग एक-तिहाई वृद्धवृद्धाहरूले निन्द्रा लगाउने औषधी प्रयोग गर्ने गर्छन्। यस्ता औषधी प्रयोग गर्नेमा प्रौढ व्यक्ति अनि कलेज पढ्दै गरेका युवायुवतीहरूले सङ्ख्या पनि बढ्दो छ।
अधिकांश मानिसहरूले निन्द्रा लगाउने औषधी खान चाहँदैनन्, तर एकचोटि तनाव-थकान अनि अनिन्द्राले समातेपछि औषधी प्रयोग गर्न थाल्छन् र बिस्तारै त्यसको बानी बस्न थाल्छ। जसले गर्दा औषधीबिना निन्द्रा नै नलाग्ने समस्या भोग्नेको सङ्ख्या बढ्दो छ।
स्लिपिङ्ग पिल्स खानु आवश्यक नै छैन। यसका अन्य थुप्रै विकल्पहरू पनि छन्। तर मानिसहरू औषधी प्रयोग गर्न नै सहज मान्छन्।
यस्ता निन्द्रा लगाउने ड्रगलाई ‘ट्रान्क्विलाइजर्स’ (Tranquilizers) भनिन्छ। यसले हाम्रो मस्तिष्क र मेरुदण्डमा प्रभाव पार्दछ। अनिन्द्राको समस्या हुनेहरूलाई डाक्टरले यो औषधी खाने सल्लाह दिन्छन्। तथापी अनिन्द्रा लगायत तनाव, थकान र डिप्रेसनको लागि यी औषधीको प्रयोग गरिन्छ।
स्लिपिङ्ग पिल्सले सोचेजति मद्दत गर्दैन
औषधीको विज्ञापन र डाक्टरले स्लिपिङ्ग पिल्सले हामीलाई थकान र तनावरहित निन्द्रा लगाउन मद्दत गर्छ भनि बताउने गर्छन्।
वास्तवमा यसो हुँदैन भनेर अनुसन्धानले देखाएको छ। साधारणतयाः निन्द्रा लाग्ने औषधी खाने व्यक्तिलाई नखाने व्यक्तिलाई भन्दा केहि बेर मात्रै धेरै निन्द्रा लाग्ने अनुसन्धानबाट पत्ता लागेको छ। तर निदाउनमा जति सहयोग गर्छ, त्यसको साइडइफेक्ट पनि उत्ति नै धेरै हुने तथ्य पनि पत्ता लागेको छ।
स्लिपिङ्ग पिल्सले घातक साइडइफेक्ट गराउँदछ
युवावस्था र प्रौढावस्थाका व्यक्तिहरूलाई यसले त्यति प्रभाव पार्दैन किनभने त्यतिबेला प्रतिरक्षा प्रणाली बलियो हुन्छ। तर जब उमेर ढल्दै जान्छ अनि शरीरको प्रतिरक्षा शक्ति पनि बिस्तारै खस्किँदै जान्छ, तब यसको साइडइफेक्ट देखा पर्ने गर्छ।
फेरि हामीले खाएका हरेक कुराको रसायनिक पहिचान हाम्रो शरीरमा लामो समयसम्म बस्ने गर्दछ। त्यसरी नै यो ड्रगको असर हाम्रो रगत, पिसाब अनि कपालमा क्रमैसँग ४८ घण्टा, ४ दिन र ९० दिनसम्म रहिरहन्छ। जसले गर्दा स्मरण शक्तिमा समस्या आउन सक्दछ।
हाम्रो शरीरमा विभिन्न लागूपदार्थको असर कति समयसम्म रहिरहन्छ? पढ्नुस्
विशेष गरी दमरोग र मुटुरोगबाट ग्रसित व्यक्तिले यस्ता ड्रग सेवन नगर्दै सुरक्षित हुन्छ। किनभने यसले हाम्रो स्वासप्रश्वास प्रक्रियालाई गहिरो र ढिलो गराउँदछ, जुन दम भएकालाई एकदमै खतरनाक हुन जान्छ।
सामान्यतयाः स्लिपिङ्ग पिल्स खानेहरूलाई यस्ता साइडइफेक् देखिने गर्छ:
- हात, पाखुरा, खुट्टा र तिघ्रा निदाएको जस्तो हुने, झम्झमाउने अनि पोलेको जस्तो हुने
- खानमा रुचि घट्ने
- पेट दुख्ने, पखाला लाग्ने
- हिँड्दा धनपट-धनपट हुने
- रिँगटा लागेको जस्तो भान हुने
- दिनमा आलश्यता हुने
- मुख र घाँटी सुक्खा हुने
- ग्यास्ट्रिक हुने
- टाउको दुख्ने
- मुटु पोल्ने
- स्मरण शक्ति धमिलो हुने, चाहिएको कुरा झट्टै सम्झिन नसक्ने
- शरीरका अङ्गहरू (विशेष गरी हातका औँला) थरथर काँप्ने
- असामान्य किसिमका सपना देखिने
- कमजोरीले सताउने
यस्ता साइडइफेक्ट देखा परेमा तुरुन्तै डाक्टरसँग सल्लाह लिनु जरुरी हुन्छ।
कस्तो अवस्थामा निन्द्रा लगाउने ड्रगको प्रयोग गर्ने?
हुन त, अनिन्द्रा भगाउने, तनाव-थकानलाई टाढा राख्ने अन्य थुप्रै घरेलु र प्राकृतिक विधिहरू पनि छन्। तर यसले पनि तपाईँको अनिन्द्रालाई कम गर्न सकेन अनि तपाईँको जीवनपद्दतीमा नकारात्मक असर ल्याउन थाल्यो भने मात्रै विकल्पको रूपमा यस्ता स्लिपिङ्ग पिल्सको सेवन गर्नु पर्दछ।
स्लिपिङ्ग पिल्स खान छोड्दा के हुन्छ?
स्लिपिङ्ग खाने बानी गर्नु आफैमा एउटा नराम्रो बानी हो, जुन छुटाउन एकदमै मुश्किल पर्दछ।
औषधी खाइराख्ने व्यक्तिले एक्कासी खान छोड्यो भनेः
- रक्तचाप अनियन्त्रित हुने
- निन्द्रा लाग्दै नलाग्ने
- एकोहोर टोलाइराख्ने
- केहि कुरा याद नै गर्न नसक्ने
- डिप्रेसनले सताउने
- आँखा कमजोर हुँदै जाने
- अत्याधिक ढाड दुख्ने
…आदी समस्याहरू आउन सक्छन्।
त्यसो भए के गर्ने त?
कुनै पनि कुराको लत लागेको छ भने त्यसलाई एकैचोटि हटाउने प्रयास गर्नुहुँदैन। यसो गर्दा शरीरको प्रणालीमा अकस्मात परिवर्तन आउन खोज्छ र झन् नराम्रो अवस्था सिर्जना हुन्छ।
त्यसैलेः
- आफूले प्रयोग गर्ने स्लिपिङ्ग पिल्स कति मिलिग्रामको हो पत्ता लगाउनुहोस् र डाक्टरको सल्लाह अनुसार, त्यसलाई घटाउँदै लैजानुहोस्।
- घटाउने क्रममा एकैदिनमा ह्वात्तै घटाउनुपनि राम्रो होइन। एकचोटि घटाएपछि त्यसैलाई कम्तीमा पनि १ हप्तासम्म निरन्तरता दिनुपर्दछ। अनि फेरी डोज घटाएर विस्तारै प्रयोग गर्न छोड्न सकिन्छ।
स्लिपिङ्ग पिल्सको लत लागेको र हाल छुटाएका व्यक्तिहरूको सल्लाह अनुसार अनिन्द्रा, तनाव र थकानबाट कसरी मुक्ति पाउने?
- सामान्य व्यायाम गर्नुहोस्।
- सुत्ने र उठ्ने समयको तालिका बनाउनुहोस् र सकेसम्म त्यसको पालना गर्ने प्रयास गर्नुहोस्।
- बेलुकाको खाना खाएको १ घण्टाभित्र नसुत्नुहोस्।
- दिउँसोको ३ बजेपछि क्याफिनयुक्त खानेकुराहरू (कालो चिया, कफी, चकलेट) नखानुहोस्।
- मद्यपानमा नियन्त्रण गर्नुहोस्।
- चर्को आवाज र बत्तीबाट टाढा रहनुहोस्।
- घरपालुवा जनावर पाल्नुभएको छ भने त्यसलाई आफ्नो सुत्ने कोठामा छिर्न नदिनुहोस्, ताकी त्यसले तपाईँको निन्द्रालाई डिस्टर्ब नगरोस्।
- यदि निन्द्रा नलाग्ला जस्तो भयो भने, उठ्नुहोस् र तपाईँलाई निन्द्रा लगाउन मद्दत गर्ने काम गर्नुहोस्- जस्तै पुस्तक पढ्ने।
आफ्नो स्वास्थ्यलाई नाजुक बनाउने कि सुधार्ने भन्ने कुरा केवल तपाईँमा नै भर पर्दछ। त्यसैले कुनै पनि ड्रगको सेवन सुरु गर्नुभन्दा अगाडि आफैले सोच्नुहोस् कि त्यो ड्रगबाहेक अन्य उपाय छ वा छैन? छ भने त्यसलाई कसरी अपनाउने? अनि सेवन गर्न लागेको ड्रगको साइडइफेक्ट के के हुन्छ? सो साइडइफेक्टलाई कम गर्न के गर्नुपर्छ? यी यावत कुराहरूलाई बुझिसकेपछि मात्रै त्यस्ता ड्रग सेवन गर्नुपर्दछ, त्यो पनि अन्तिम विकल्पको रूपमा मात्रै।